ब्राइटल्याण्ड सेकेन्डरी स्कुलमा स्पोर्ट मिट २०८१ सुरु

हेमन्त कंडेल
सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–११, पिपीरा स्थित ब्राइटल्याण्ड सेकेन्डरी स्कुलमा स्पोर्ट मिट २०८१ सुरु भएको छ। विद्यालयका संस्थापक अध्यक्ष बालदिप कंडेलको अध्यक्षतामा आयोजित यस खेलकुद सप्ताह माघ १८ गतेसम्म सञ्चालन हुनेछ।

कार्यक्रमको उद्घाटन वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का वडाध्यक्ष खिमलाल देवकोटाले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा वडाध्यक्ष देवकोटाले खेलकुद मनोरञ्जनका लागि मात्र नभई स्वस्थ जीवनको लागि आवश्यक रहेको बताउँदै, विद्यालयले विद्यार्थीलाई अनुशासित बनाउनुका साथै वडा नं. ११ लाई चिनाउन उल्लेखनीय भूमिका खेलेको धारणा राख्नुभयो। उहाँले आफू पनि खेलकुद क्षेत्रमा लामो समय बिताएको स्मरण गर्दै बालबालिकाका लागि यस्तो कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो।

कार्यक्रमका विशेष अतिथि प्याव्सन कर्णाली प्रदेश सचिव वेद प्रकाश ढकालले खेलकुदले बालबालिकालाई अध्ययनप्रति आकर्षित गराउने उल्लेख गर्नुभयो। त्यस्तै, प्याव्सन जिल्ला अध्यक्ष छत्रबहादुर बडुवाल, नगर प्याव्सन अध्यक्ष पूर्ण भण्डारी, र शिक्षक अभिभावक संघकी अध्यक्ष राधा थापालगायतले शुभकामना मन्तव्य राख्नुभयो।

विद्यालय सञ्चालिका विमला कंडेलले बालबालिकालाई खेलकुद सप्ताहलाई सदुपयोग गर्न आग्रह गर्दै विद्यालयले सधैं विद्यार्थीको शारीरिक र मानसिक विकासलाई प्राथमिकता दिएको बताउनुभयो।

प्रधानाध्यापक माधव भण्डारीले स्वागत मन्तव्य राख्दै हरेक वर्षझैं यस वर्षको स्पोर्ट मिटलाई पनि उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले “शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद” भन्ने नारालाई सार्थकता दिन विद्यार्थीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा अतिरिक्त विभाग प्रमुख तीर्थबहादुर बुढाले खेलकुद प्रतियोगिताको सहजिकरण गर्नुभएको थियो भने सहप्रध्यानाध्यापक राजेन्द्रप्रसाद गौतमले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। खेलकुद सप्ताहमा विभिन्न खेलकुद गतिविधिहरू मार्फत विद्यार्थीको प्रतिभा अभिव्यक्त हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close