
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्तिक १५ देखि १७ गतेका लागि तोकिएको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ। भदौ २६ मा सम्पन्न स्थायी कमिटी बैठकले तोकेको मितिमा तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको नेकपा पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए। ‘हाललाई बैठक स्थगित भएको छ। तयारी नपुगेको लगायतका विषय छन्,’ उनले भने।
एक महिना पछि मङ्सिर १५ देखि १७ सम्म बैठकको मिति सारिएको छ। कोरोना महामारी लगायतका कारण पनि बैठक स्थगित गर्नुपरेको उनले बताए। दुई अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र केपी शर्मा ओलीको सल्लाहमै बैठक स्थगित भएको ओली समूहका नेताहरूको दाबी छ।
तर, प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले दुई अध्यक्ष बिच सल्लाह नै नभएको बताए। ‘ सरसल्लाहमा बैठक स्थगित भएको होइन।हामीलाई जानकारी छैन,’ उनले भने।
नेकपाका केन्द्रीय कमिटीका सदस्य ठाकुर गैरेले बैठक स्थगित बारे आफूहरूलाई जानकारी नै नभएको बताए। ‘हामीलाई अहिलेसम्म केही जानकारी छैन। बैठक स्थगित भएको भए हामीलाई पनि जानकारी हुनुपर्ने,’ उनले भने।
ओलीले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउँदा नेकपामा चर्किएको विवाद महाधिवेशनको मिति चैत २५ देखि ३० र केन्द्रीय कमिटीको बैठक कात्तिक १५ देखि १७ मा तोकी साम्य भएको थियो। पछिल्लो समय नेकपाको आन्तरिक किचलो बढेपछि दुई अध्यक्षबिचमा सहमति हुन छोडेको छ। कर्णालीमा मुख्यमन्त्री विवाद पछि नेकपाको किचलो झनै बढेको छ। विवाद बढेकै कारण केन्द्रीय कमिटी स्थगित गरिएको बताइएको छ।