निजी क्षेत्रका समस्या सम्वोधन गर्ने प्रजिअ आचार्यको प्रतिबद्धता

सुर्खेतका नयाँ प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले निजी क्षेत्रका साझा समस्याहरुका बारेमा आफू जानकार रहेको भन्दै यस्ता समस्याहरु क्रमिक रुपमा सम्वोधन र समाधन गर्दै जाने प्रतिवद्धता जनाउनुभएको छ ।
सुर्खेत उद्योग वाणिज्य संघले मंगलबार वीरेन्द्रनगरमा आयोजना गरेको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा नयाँ प्रजिअ आचार्यले प्रदेश राजधानी र सिंगो प्रदेशको प्रवेशद्वारका रुपमा रहेको सुर्खेतमा हुनसक्ने अवाञ्छित क्रियाकलापबारे आफू जानकार रहेको बताउनुभएको हो ।
पछिल्लो समय कानून बनाउने अधिकारसहितको स्थानीय सरकारहरुले निर्धारित समयमा कानून निर्माण नगर्दा कतिपय विषयमा स्थानीय प्रशासनलाई समेत काम गर्न अप्ठेरो परिरहेको उहाँको गुनासो थियो । सबै समस्या एकै पटक समाधान गर्न असम्भव हुन्छ ।  प्रजिअ आचार्यले भन्नुभयो, तपाइँहरुले उठाएका सवाल र समस्याहरुलाई क्रमिक रुपमा, यथासम्भव छिटो सम्वोधन र समाधान गर्ने मेरो प्रयत्न हुनेछ । पछिल्लो समय आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाहरुको कडाई कारण निजी क्षेत्रमा केहि निराशा छाएको भन्दै उहाँले व्यवसायीले पनि आफ्नो व्यवसायिक धर्म बिर्सन नहुने सुझाव दिनुभयो ।
त्यस्तै संघका अध्यक्ष लक्ष्मण कँडेलले प्रदेश राजधानी भएका कारण बढ्दो जनसंख्या र शहरीकरणका कारण चोरीचकारी, लागूऔषध, सडक दुर्घटनालगायत शान्ति सुरक्षा विपरित विभिन्न गतिविधि बढ्दै गएको भन्दै ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय, नेउवामहासंघ कर्णालीका अध्यक्ष पदमबहादुर शाही, पूर्व केन्द्रीय सदस्य टेकबहादुर भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close