कोरोना त्रासबीच पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य द्रूत पारियो

कोरोना त्रासबीच पनि चितवनमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्माण कार्यलाई द्रूत बनाइएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कामदारलाई सुरक्षित अवस्थामा राखेर निरन्तर काम भइरहेको हो ।

कोरोनासँग लड्न सरकारले गत चैत ११ बाट लकडाउन घोषणा गरेदेखि देशको जनजीवन ठप्प बन्यो । लकडाउन देखाएर धेरै परियोजनाहरु रोकिए । तर, चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम भने बैशाख २० गतेदेखि सुरु गरिएको छ ।

फाउण्डेशनले सीमित जनशक्ति र स्रोत–साधानमा काम अघि बढाइरहेको धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मस’ले जानकारी दिनुभयो ।

अहिले रंगशालामा १० जना प्राविधिक तथा एक सयभन्दा बढी मजदुरले काम गरिरहेका छन् । पिलर उठाउने काम करिव ४० प्रतिशत भागमा सम्पन्न भैसकेको छ । ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चारवटा ब्लकमा रहने प्याराफिटको ‘ए’ र ‘बी’ को काम भैरहेका आयोजनाका डेपुटी प्रोजेक्ट म्यानेजर इन्जिनियर मणि दासले जानकारी दिनुभयो ।

एक लाइनमा पाँचवटा पिलर रहनेछन् । प्याराफिटको पहिलो स्टेप डीपीसी लेभलबाट १ मिटर २० सेन्टिमिटरको उचाइसम्म रहनेछ भने, पाँचौ पिल्लर २१ मिटर उचाईको हुने दासको भनाइ छ ।

मजदुर तथा प्राविधिकहरुलाई क्वारेन्टाइनमा राखेर काम गरिएको छ । उनीहरु आफूखुसी बाहिर जान पाउँदैनन् । लकडाउनका कारणले निर्माण सामग्री पाउन पनि समस्या भएको धुर्मुसको भनाइ छ ।

‘लकडाउन नभएको भए तीन सिफ्ट बनाएर रातभर काम गर्ने योजना थियो, अहिलेसम्म सबै पिल्लर उठिसकेका हुने थिए, तर अहिले कामदार पाउन पनि गाह्रो भयो, निर्माण सामग्री पनि सहज रुपमा उपलब्ध छैन’, उहाँले भन्नुभयो ।

अघिल्लो बर्षको जेठबाट निर्माण कार्य थालिएको रंगशालामा अहिलेसम्म १४ करोड ५० लाख लाख भन्दा बढी खर्च भएको फाउण्डेशनले जनाएको छ । झण्डैं तीन अर्व लागत अनुमान गरिएको रंगशालामा दाता तथा विभिन्न स्रोतबाट ११ करोड ३७ लाख ५० हजार रुपैयाँ संकलन भएको फाउण्डेशनका अध्यक्ष धुर्मसले जानकारी दिनुभयो ।

चालु आर्थिक बर्षको जेठ मसान्तसम्म ५ करोड ८३ लाख ३७ हजार ७ सय ८९ रुपैयाँ विभिन्न दाताहरुबाट संकलन भएको र धनधान्याञ्चल महोत्सवबाट पेश्कीवापत दुई करोड रकम गरी ७ करोड ८३ लाख ३७ हजार आम्दानी एवम् खर्च भएको फाउण्डेशनका लेखा अधिकृत मुक्ति तिमिल्सिनाले जानकारी दिनुभयो ।

धनधान्याञ्चल महोत्सवबाट दिइएको ७ करोड १४ लाखमध्येबाट थप २ करोड ५४ लाखसमेत फाउण्डेशनको खातामा जम्मा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close