राष्ट्रपति निर्वाचनका लागि यस्तो छ कांग्रेसको भित्री रणनीति

राष्ट्रपति पदकालागि उम्मेदवारी दिने मिति नजिकिएसँगै राजनीतिक दलहरुका दाउपेच झन् पेचिला बन्दै गएका छन् । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी राष्ट्रपति हत्याउन रणनीतिक मैदानमा छन् । विशेषगरि प्रधानमन्त्री प्रचण्डप्रति अविश्वासका कारण नेकपा एमाले पछिल्ला दिनहरुमा विशेष चनाखो बनिरहेको छ । यता, कांग्रेसपनि रणनीतिक रुपमै राष्ट्रपति आफ्नो भागमा पार्न कस्सिरहेको छ ।

राष्ट्रपति चयनको मिति नजिकिएसँगै सत्ता गठबन्धन र नेपाली कांग्रेसको अर्जुन दृष्टि यसैमा केन्द्रित छ । राष्ट्रपति पद आफ्नो भागमा पार्न जोडबल गरिरहेको कांग्रेस अहिलेको सत्ता गठबन्धनबाट नेकपा एमालेलाई अलग गर्ने ध्याउन्नमा देखिन्छ । पछिल्लो राजनीतिक कोर्समा कांग्रेस र एमालेबीच रस्साकस्सी प्रष्ट छ । कोसँग कहाँ कसरी समन्वय गर्दा राजकीय पदमा अधिपत्थ्य जमाउन पाइन्छ भनि हिसाबकिताब गर्दै रणनीतिक पासा बुन्न व्यस्त रहेका छन् कांग्रेस र एमाले ।

गएको पुस १० को राजनीतिक परिदृश्यले तत्कालिन सत्ता गठबन्धन फेरेर एमालेको सहारामा प्रधानमन्त्री बन्न पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राष्ट्रपति सर्वस्वीकार्य हुनुपर्ने भन्दै राष्ट्रिय सहमति गर्नुपर्ने बताइरहेका छन् । प्रचण्डको यो अभिव्यक्ति सरकारको नेतृत्व गर्दा बालकोटमा भएको सहमति विपरित हो । त्यसैले पनि सत्ता गठबन्धनको प्रमुख दल नेकपा एमाले पुस १० मा गरिएको सहमतिअनुसार नै प्रचण्डले कदम चाल्नु पर्ने भन्दै दबाब दिइरहेका छन् । राष्ट्रपतिका विषयमा एमाले र कांग्रेस दुवैले आ–आफ्नो दाबी गरिरहेका छन् ।

राष्ट्रपति पद आफू अनुकूल बनाउन विभिन्न गोटी चाल्ने कार्य जारी नै रहँदा नेकपा एमालेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सहयोग गर्ने भन्ने विषयले पनि चर्चा पाइरहेको छ । यद्दपी, यो संकेत सतहमा प्रष्ट भइसकेको भने छैन ।

पछिल्लो एक महिना यता दलहरुको सम्पूर्ण रणनीतिक कदम राष्ट्रपति पदको प्राप्तिमै केन्द्रित छ । सत्ता गठबन्धन भित्र एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच दिनहुँ जसो यसै विषयमा छलफल भइरहेका छन् ।

यि सबै राजनीतिक खेलमा कांग्रेस आक्रामक रुपमा अघि बढिरहेको देखिन्छ । वर्तमान गठबन्धन भत्काउने ध्याउन्नमा छ कांग्रेस । यता, प्रचण्डसँग भएको भेटपछि काठमाडौंमा आइतवार भएको एक कार्यक्रममा नेकपा एसका अध्यक्ष नेपालले वर्तमान गठबन्धन छिट्टै टुट्ने अभिव्यक्ति दिए । यसले एमाले प्रचण्डको नियतमाथि थप सशंकित देखिन्छ । अझ् आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेसका नेताहरुले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेपछि एमाले आशंकित छ ।

यस्तो छ कांग्रेस रणनीति

  • निर्वाचनमा सहकार्य गरेको गठबन्धनलाई पुनः ब्युँत्याउने
  • त्यसका लागि प्रचण्डलाई ५ वर्षकै लागि प्रधानमन्त्री स्वीकार गर्ने
  • कांग्रेसबाट राष्ट्रपति बनाउने

राष्ट्रपति निर्वाचनलाई लिएर प्रधानमन्त्री प्रचण्डसँग निरन्तर छलफलमा रहेका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले समेत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा नेपाली कांग्रेसमाथि मात्र भरोसा गर्ने अवस्था रहेको बताई माओवादी पनि यस कुरामा सकारात्मक रहेको संकेत गरिरहेका छन् । यसरी प्रचण्डकै आगामी कदमबाट नेपाली कांग्रेसका नेताहरुले केन्द्रदेखि प्रदेशसम्मकै सत्तासहयात्राको पर्खाइमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close