साना किसान कृषि सहकारी संस्थाको २५ औं बार्षिक साधारणसभा सम्पन्न

८२ लाख ५८ हजार खुद नाफा

सुर्खेत २४, मंसिर ।
सुर्खेतको वीरेन्द्रनगर ९, लाटिकोइलीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले २५ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । साधारण सभामा संस्थाका अध्यक्ष शान्ति कुमारी सिंहले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाले विगत वर्षदेखि नै साना व्यावसायिक कर्जा तथा साना उद्यमीहरुको साना साना बचत संकलन गरी ऋण प्रवाह गर्दै आफ्ना सेवाहरुलाई विस्तार गर्दै आएको संस्थाकी अध्यक्ष सिंहले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा उल्लेख छ । वीरेन्द्रनगर वडा नं. ९, १० र ११ मा कार्यक्षेत्र रहेको सहकारीले न्युन आयस्तर भएका महिलाहरुलाई समुहमा आवद्ध गराई महिलाहरुको आर्थिक तथा सामाजिक विकासमा सक्रिय रहेको अध्यक्ष सिंहले बताउनु भयो ।
कृषि औजार, तरकारी खेती, पशुपालन, खुद्रापसल तथा व्यापार, साना तथा घरेलु उद्योग, सौर्य ऊर्जा, लघुउद्यम, विद्युतिय चुलो लगायतका क्षेत्रमा ऋण लगानी गरेको संस्थामा हाल २ हजार १२८ सदस्य रहेका छन् ।
संस्थाको हाल २ करोड, ९२ लाख, ४५ हजार ८१६ शेयर पुजी रहेको संस्थाले ४६ करोड ७७ लाख ४३ हजार १३२ को कारोवारो गरेको बताइएको छ । संस्थाले ३ करोड ९७ लाख ५८ हजार ९९९ आम्दानी गरेको छ भने ३ करोड १५ लाख खर्च गरेको आर्थिक प्रतिवेदन पेश गरिएको छ । संस्थाले यस आर्थिक बर्षमा लगभग ८२ लाख ५८ हजार खुद नाफा गरेको छ ।
२५ औं बार्षिक उत्सव एमव रजत जयन्तीमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि एबम कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले सहकारी मार्फत कृषिमा ठुलो लगानी भएको भन्दै साना किसानको आयस्तरका लागि सहकारी संस्थाले सरकारले गर्न नसकेको काम गरेको बताउनु भएको छ । मन्त्री शाहीले वैंकहरु कृषि क्षेत्रमा लगानी गर्न हिचकिचाइ रहेको अवस्था साना साना कृषि उद्यममा लगानी गरी सदस्यको आयस्तर सुधारमा सहकारी उल्लेखनीय काम गरेको भन्दै प्रदेश सरकारले समेत सहकारीहरुलाई थप सहयोग गर्ने बताउनु भएको छ ।
कार्यक्रममा साना किसान लघुवित्तका इलाका प्रवन्धक हरि प्रसाद न्यौपानेले साना किसान मार्फत कृषिमा रुपान्तरणका लागि लाटिकोइलीको सहकारीले सदस्यलाई व्यवसायीकरणमा जोडेको बताउनु भएको छ । प्रवन्धक न्यौपानेले व्यवसायका लागि लगेको कर्जालाई तोकिएकै क्षेत्र लगानी गर्न आग्रह गर्नुभयो । कर्जालाई सदुपयोग गरेमा कृषिमा रुपान्तरण ल्याउन धेरै समय नलाग्ने उहाँको धारणा छ ।
कार्यक्रममा संस्थाका सदस्यहरु मध्ये वृद्ध सदस्यमा रतनसिंह रावललाई सम्मान गरेको छ । त्यस्तै कार्यक्रममा उत्कृष्ट बचत, उत्कृष्ट ऋणि, कर्मचारीलाई सम्मान र पुरुस्कृत गरिएको छ ।
संस्थाले सुत्केरी पोषण खर्चलाई निरन्तरता दिने, सदस्य मृत्यु राहत, पशु औषधि खोप कार्यक्रमलाई निरन्तरता दिने भएको छ । यस वर्ष बिउ साँढे गोरु र बिउ बोका वितरण , ब्यबसायिक पशुपालन अध्ययन अबलोकन भ्रमण गर्ने, उन्नत जातका समयानुकुल तरकारी बिउ बितरण, अर्गानिक खेति तर्फ कृषकलाई प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने बताइएको छ ।
कार्यक्रम संस्थाका प्रवन्धक माया श्रेष्ठले संचालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close