नेकपाले जुझारु बौद्धिक व्यक्तित्व गुमायो : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता कमानसिंह लामाको बिहीवार ६९ वर्षका उमेरमा निधन भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा बिहीवार बिहान नेता लामाको निधन भएको हो ।

विक्रम संवत् २००८ फागुन ९ गते पिता चन्द्रसिंह र आमा मिश्रीमायाका कोखबाट जन्मेका लामा विक्रम संवत् २०३३ सालमा निर्मल लामा नेतृत्वको नेकपा (चौम) बाट कम्युनिस्ट पार्टीको सदस्य बनेका थिए ।

लामा विक्रम संवत् २०३५ सालमा गठित अखिल नेपाल युवा संघका केन्द्रीय संस्थापक सदस्य थिए । विक्रम संवत् २०६३ सालमा पुनःस्थापित व्यवस्थापिका–संसद्को सदस्य बनेका उनले दक्षिण कोरियाका राजदूत समेत रहेर आफ्नो भूमिका निर्वाह गरेका थिए । दिवंगत लामाका पत्नी, १ छोरा र ४ छोरी छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  पार्टीका केन्द्रीय सदस्य तथा पूर्वराजदूत लामाको निधनप्रति दुःख व्यक्त गर्दै उनको निधनले नेकपाले जुझारु एवं बौद्धक व्यक्तित्व गुमाएको बताएका छन् ।

बिहीवार दिएको शोक सन्देशमा अध्यक्ष दाहालले नेपाली कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका लामा हक्की र निडर तथा जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहेका स्मरण गरे । अध्यक्ष दाहालले भनेका छन्, ‘जुझारु, बौद्धिक व्यक्तित्वका धनी कमरेड लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उहाँको अभावको महसूस गरेको छु ।’

अध्यक्ष प्रचण्डले दिवंगत नेता लामाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा  समवेदनासमेत व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close