
दोस्रो चरणको कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सुर्खेतको भेरीगंगा नगरपालिका अक्सिजनसहितको आईसोलेशन कक्ष निर्माणमा लागेको छ ।
नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र बनेपछि नागरिकको उपचारमा सहजताका लागि अक्सिजनसहितको आईसोलेशन कोरोना अस्पताल निर्माण गर्न थालिएको भेरीगंगा नगरपालिकामा रहेक अस्थायी कोभिड अस्पतालका फोकल पर्सन धिरेन्द्र घर्तीले बताउनु भयो । उहाँका अनुसार हाल ५ अक्सिजन सहितको वेड रहेको छ । संभावित जोखिमलाई हेरेर नगरपालिकाले १५ अक्सिजन सहितको वेड निर्माणको तयारी गरेको बताउनुभयो ।
उहाँले थप अक्सिजन सिलिण्डर खरीदका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको जानकारी दिनुुभयो । ‘भारतबाट गाउँ फर्किने युवाहरुको संख्या बढ्दै गएकाले कोरोना संक्रमणको जोखिम समेत बढेको छ,’ उहाँले भन्नुुभयो, ‘कोरोना संक्रमण फैलिन नदिन नगरपालिकाले सचेतना अभियान सञ्चालन गर्नुका साथै शंकास्पद व्यक्तिमाथि निगरानी बढाएको छ ।’