कालापानी र सुस्ताको कूटनीतिक पहलबाट समाधान हुन्छः अध्यक्ष प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कालापानी, लिपुलेक र सुस्ता लगायतका क्षेत्रमा देखिएका सीमा समस्याको समाधान कूटनीतिक पहलमार्फत गरिने बताएका छन् ।

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको राज्य व्यवस्था समितिका सदस्य समेत रहेका प्रचण्डले समितिको सोमवारको बैठकमा यस्तो बताएका हुन् ।

भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा कालापानी, लिपुलेक तथा लिम्पियाधुरा लगायत नेपाली भूमि समेत परेपछि त्यसै सम्बन्धमा छलफल गर्न समितिको बैठक बसेको हो ।

समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत बोलाइएपनि उनी स्वास्थ्यको कारण देखाउँदै उपस्थित भएनन् ।

बैठकमा प्रचण्डले भारतले नयाँ नक्सा जारी गर्दा लामो समयदेखि विद्यमान नेपाल–भारत सीमा समस्या समाधानका लागि सकारात्मक स्थिति बनेको दाबी गरे ।

नेपालका तर्फबाट भएका एकाधबाहेकका प्रधानमन्त्रीहरूको भ्रमणमा यस विषयमा कुरा उठ्ने गरेको प्रचण्डको जिकिर छ ।

‘यो सीमासम्बन्धी समस्या लामोसमयदेखि नेपाल र भारत बीचमा छलफल हुँदै आएको विषय हो । नेपाल सरकारका तर्फबाट पटक–पटक भएको प्रधानमन्त्रीहरूको भारत भ्रमणमा यस विषयमा छलफल हुने गरेको हो,’ प्रचण्डले भने ।

कालापानी र सुस्तामा देखिएको सीमा समस्याको कुरा प्रधानमन्त्रीहरूको जोइन्ट स्टेटमेन्टमा पनि उल्लेख हुने गरेको स्मरण उनले गराए ।

‘पछिल्लोपटक आइपुग्दा धेरै ठाउँमा सीमाका सम्बन्धमा सहमति भएको छ, दुईवटा क्षेत्रमा अझै समाधान भएको छैन । कालापानी र सुस्ता समाधान नभएका सीमासम्बन्धी जटिल समस्या भनेर दुवैले भन्दै आएको कुरा हो,’ प्रचण्डले भने, ‘म प्रधानमन्त्रीको हैसियतमा दुईपटक राजकीय भ्रमणमा जाँदा पनि यी विषय उठेको र जति सहमति भयो सहमति भनेर टुंग्याउँ २ वटालाई बाँकी भनौं भन्ने विषयमा एकमत भएको थियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close