एमालेद्धारा मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता

नेकपा (एमाले)ले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठकले एमालेको तर्फबाट सरकारमा गएका तीनजना मन्त्री प्रकाश ज्वाला, दल रावल र नन्दसिंह बुढालाई पनि फिर्ता बोलाउने निर्णय गरेकोे एमालेका संसदीय दलका नेता यामलाल कंडेलले बताउनु भयो ।
नेकपा गठनअघि २०७४ फागुनमा तत्कालीन एमालेले संविधानको धारा १६८, ९२० अनुसार सरकार गठनको लागि माओवादी केन्द्रका संसदीय दलका नेता शाहीलाई समर्थन दिएको थियो । तत्कालीन अवस्थामा एमालेका २० र माओवादी केन्द्रका १३ सांसदको समर्थनमा शाही मुख्यमन्त्री नियुक्त भएका थिए ।
बुधबार एमाले संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा भएको बैठकमा दलका २० सदस्यमध्ये केपी ओली समूहका १० सांसद उपस्थित रहेका थिए । दलको बैठकमा तीनजना मन्त्रीका साथै माधव नेपाल समूहका सांसद भने सहभागी थिएनन् ।
समथर्न फिर्ता लिएपछि शाही नेतृत्वको सरकार संकटमा परेको छ । शाहीसँग अब राजीनामा दिने वा प्रदेश सभाबाट विश्वासको मत लिने विकल्प छन । यद्यपि वर्तमान सरकारको भविष्य वा नयाँ सरकार गठनको सम्भावना एमाले भित्र नेपाल समूहले लिने निर्णयमा निर्भर हुनेछ ।

नेकपा (एमाले) प्रदेश सभा दलको समर्थन कायमै: मन्त्री ज्वाला

यता नेपाल समुहका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ओली पक्षले गरेको निर्णयप्रति आफुहरुको ध्यानाकर्षण भएको बताउनुभएको छ । बुधबार सामाजिक सञ्जाल मार्फत उहाँले यस्तो गुटगत बैठक प्रचलित कानुन, विधि र प्रक्रिया सम्मत नभएको भन्दै औपचारिक सूचना नदिई बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरु प्रति आफुहरुको असहमति रहेको बताउनु भएको छ । उहाँले नेकपा (एमाले) प्रदेशसभा दलको आधिकारिक निर्णय नभएको जानकारी गराउँदै सामाजिक सञ्जालमा कर्णाली प्रदेश सरकार प्रति नेकपा (एमाले) प्रदेश सभा दलको समर्थन कायमै रहेको समेत बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close