
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संस्थापन पक्षको भेला काठमाडौंमा सुरु भएको छ।
प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीपक्षीय काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको भेला नेपाल प्रज्ञा प्रतिष्ठानमा भर्खरै सुरु भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्दै आएका उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलगायतका नेताहरु उपस्थित भइसकेका छन्।
प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको भेलामा अहिलेसम्म उनको उपस्थिति भने भइसकेको छैन। भेलामा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्नुपर्नाको कारण तथा वर्तमान राजनीतिक अवस्थाबारे कार्यकर्तालाई जानकारी गराउने छन्।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा वरिष्ठ नेता माधवकुमार नेपालसहित रहेको असन्तुष्ट समूहका नेताहरु राजनीतिक तथा व्यावहारिक रुपमा नेकपाबाट अलग भइसकेको अवस्थामा गत बुधबार पनि कार्की ब्याङ्क्वेटमा ओली पक्षको सुदूरपश्चिम प्रदेशका कार्यकर्ता भेला भएको थियो।
प्रचण्ड–नेपालको नेतृत्व रहेको असन्तुष्ट समूहबाट सरकार सञ्चालनमा लगातार भइरहेको असहयोगका कारण प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जाने भन्दै गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा प्रतितिधिसभा विघटन गरेकी थिइन्।