बृद्ध नेताहरु एमालेको परीक्षामा सहभागी

नेकपा (एमाले) बाँकेले सोमबार जिल्लाभरका संगठित सदस्यहरुको परीक्षा लिएको छ । सोमबार जिल्लाका ८१ वटा वडामा एकसाथ परीक्षा सञ्चालन गरी उत्तरपुस्तिका सुरक्षित राखिएको एमाले बाँकेका सचिव रत्न खत्रीले जानकारी दिनुभयो ।

परीक्षामा वृद्ध नेताहरुको समेत सहभागिता रहेको छ । खजुरा –२ सीतापुरबाट पार्टी केन्द्रीय सदस्य ८० बर्षीय बाबुराम गौतम, ७५ बर्षीय पूर्व जिल्ला कमिटी अध्यक्ष नन्दलाल रोकाय लगायतका नेताको सहभागिता रहेको सचिव खत्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको नेतृत्व र संगठित सदस्य एकसाथ परीक्षामा सहभागी हुनुभएको छ ।’

एमाले बाँकेले लुम्विनी प्रदेश कमिटीको निर्णयअनुसार सोमबार जिल्लाका ८१ वटा वडामा एकसाथ परीक्षा सञ्चालन गरिएको छ । परीक्षामा करिब पाँच हजार संगठित सदस्यहरु सहभागी हुनुपर्नेमा कोही जिल्ला बाहिर रहेका कारण सबैजना उपस्थित हुन नसकेको एमालेले जनाएको छ ।

परीक्षा सञ्चालनका लागि जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिसहित जिल्ला पदाधिकारी र स्कुल विभागका सदस्यलाई जिम्मेवारी दिइएको थियो । परीक्षाका लागि प्रदेश कमिटीबाट प्रश्नपत्र तयार भइ जिल्ला पार्टी कार्यालयममार्फत वडा पुगेको थियो ।

पार्टी सदस्यलाई पार्टीप्रति क्रियाशील र जवाफदेही बनाउन परीक्षा लिइएको एमालेले जनाएको छ । यसबाट पार्टी सदस्यहरुलाई नीतिगत र अन्य जानकारी दिन सहज हुने अपेक्षा गरिएको एमालेले जनाएको छ । एमालेका अनुसार लुम्विनी प्रदेशका सबै जिल्लामा एकसाथ परीक्षा सञ्चालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close