बाढीले बगायो बस्ती : १४ को मृत्यु, ३८ बेपत्ता

ढोरपाटन नगरपालिका–६ अधिकारी चौरमा केही वर्षअघि भीषण बाढी आयो। खानी चामिदार खोलाको बाढीले क्षणभरमै दर्जनभन्दा बढी घर बगायो तर मानवीय क्षति भएन। कारण थियो, बाढी आउन सक्ने पूर्वसूचना। तर, ढोरपाटन–९ मा बुधबार राति उस्तै प्रकृतिको घटना हुँदा ठूलो जनधनको क्षति भएको छ।

प्रहरीले १४ जनाको शव फेला परेको जनाएको छ। ३८ जना बेपत्ता छन्। बाढीले ३१ घर बगाएको छ। एक सयभन्दा बढी घरमा क्षति पुगेको छ। चार जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। गम्भीर अवस्था रहेका ढोरपाटन–९ का महेन्द्र पुनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ ल्याइएको छ।

शव भेटिएका १४ मध्ये १२ जनाको सनाखत हुन सकेको छैन। मृतकमध्ये ३ बालक, १ बालिकासहित ४ पुरुष र ६ महिला छन्। ढोरपाटन–९ की २६ वर्षीया केशमाया विक र ४५ वर्षीय करबहादुर विकको मात्र सनाखत भएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी राजेन्द्र रेग्मीले बताए।

अधिकारी चौर घटनामा पहाड खसेर खोला थुनिएको थियो। त्यहाँ गोठमा बसेका एक स्थानीयले मोबाइलबाट तल तटीय क्षेत्रका गाउँलेलाई फोन गरी सचेत पारेका थिए। स्थानीय घर छाडेर भागेपछि भौतिक क्षति त भयो तर स्थानीयको ज्यान जोगिएको थियो।

बुधबार रातिको घटनामा भने सिकार आरक्षछेउको देउराली पहाड खसेर भुजी खोला थुनिएको थियो। कसैले त्यसको सुइँकोसम्म पाएनन्। खोला एकैचोटि खुल्दा बाढीको रूप लिएको स्थानीय राम सुवेदीले सुनाए। त्यसबेला स्थानीयवासी खाना खाएर सुतिसकेका थिए। त्यसमाथि रातको करिब १२ बजेको थियो।

‘ठूलो जहाजको जस्तो आवाज सुनेपछि तर्सिएर बाहिर निक्लिएँ। बाढी आएजस्तो लागेपछि श्रीमती र बच्चा उठाएर माथितिर भागें’, स्थानीय भकारे कामीले भने, ‘घर भने हेर्दाहेर्दै खोलामा बग्यो।’

सुतिरहेका बेला बाढी आएर घरसँगै बगाउन लागेका बेला आमा (तुलमती पुन)लाई हात समाएर तान्ने क्रममा भेलले बगाएको माया पुनले बताइन्। ‘बाढी आएको थाहा पाएपछि भाग्न खोज्दै थियौं, आमालाई नलिई यत्तिकै भाग्न सकिनँ। हात समाएर बाहिर निक्लिने क्रममा थियौं’, उनले भनिन्, ‘बाढीको झड्काले आमालाई छुटायो, म भने भाग्यवश बाँच्न सफल भएँ।’

अर्का स्थानीय परिचय घर्तीले राति सुतिरहेका बेला एक्कासि बाढी आएर घर भत्किएपछि बल्लतल्ल ज्यान जोगाएको बताए। ‘घर बाढीले भत्कियो। सँगै रहेका दुई साथी कसरी भागेछन् पत्तै भएन। मलाई डुबाउन लागिसकेको थियो’, उनले भने, ‘अब यत्तिकै होला भन्ने सोचेको थिएँ। त्यहीबेला छेउमा बन्दै गरेको पक्की घरको पिलर देखें। त्यहाँ बल्लतल्ल झुन्डिएर करिब आधा घण्टापछि बाढी कम भयो। अनि झरेर अर्को घरतिर भागें।’

शव सनाखत गर्न कठिन

शव कतै पुलको लाठोमा अड्केको अवस्थामा फेला परेको छ भने कतै खोला किनारको बालुवामा। ती शव क्षतविक्षत अवस्थामा रहेकाले सनाखत गर्न कठिनाइ भएको छ।

‘बाढीले क्षतविक्षत पारेका शवको कपडा मात्रै होइन, कसैको टाउको छैन। कसैको शरीर छैन। कसैको कम्मरभन्दा तलको भाग र टाउको छैन। कसैको हात, खुट्टा र शिर छैन। त्यसैले शव सनाखत गर्नै समस्या भइरहेको छ’, दिनभर खोजी तथा उद्धारमा खटिएका इलाका प्रहरी बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाश भण्डारीले भने। उनका अनुसार एकै परिवारका ८ जनासम्म हराइरहेका छन्।

वडाध्यक्ष हरि घर्तीले बाढीले वडा नम्बर ९ मा मात्रै ७१ घरमा क्षति पु¥याएको बताए। बाढीमा परेर आफ्नो वडाको मात्रै ३० जनाभन्दा बढी हराएको उनको भनाइ छ।

ढोरपाटन–९ बाट सुरु भएको बाढी क्रमशः वडा नम्बर ८, ७, ६, ५ सम्म आएको थियो। सबैभन्दा ठूलो क्षति वडा नम्बर ९ मै देखिएको छ। बाढीले लाकुरीबोट स्वास्थ्य चौकीको भवन, जनचेतना प्राविको चारकोठे भवन, सरस्वती प्राविको दुईकोठे भवन, भुजी खोला लघुजलविद्युत् आयोजनाको पाँच वटा शाखामध्ये चार वटा भवन, सडक छेउमा पार्किङ गरेर राखेको एक जिप पनि बगाएको छ।

ढोरपाटनका मेयर देवकुमार नेपालीले मध्यरातमा आएको बाढीले अकल्पनीय क्षति पु¥याएको बताए। ‘सबैभन्दा ठूलो मानवीय र भौतिक क्षति वडा नम्बर ९ मा भएको छ। अन्य ५, ६, ७, ८ मा सबै गरेर एक सयभन्दा बढी घर क्षतिग्रस्त अवस्था देखिएको छ’, मेयर नेपालीले भने, ‘यो विपत्तिको सामना कसरी गर्ने भन्नेबारे आकस्मिक नगर कार्यपालिका बैठक बसेर निर्णय गर्छौं। हामी प्रदेश र केन्द्र सरकारको पनि यसमा ध्यानाकर्षण गराउँछौं।’ वडा नम्बर ९ मा पहिलो बाढी आएकाले त्यस तलका अन्य वडाका तटीय क्षेत्रमा पूर्ववत् फोन गरेर जानकारी गराएका कारण मानवीय क्षति कम भएको उनले बताए।

गृहमन्त्री आकाशबाटै फिर्ता

राहत लिएर बाढी प्रभावित क्षेत्रमा आउँदै गरेका गृहमन्त्री रामबहादुर थापासहितको टोली बाटोबाटै फिर्ता भएको छ।

नेपाली सेनाको हेलिकप्टरमार्फत उडेका गृहमन्त्री थापा मौमस खराब पछि स्याङ्जाको आकाशबाटै पोखरा विमानस्थलमा आकस्मिक अवतरण गरेका थिए। पोखरा विमानस्थलमा दिउँसो साढे १ बजेसम्म मौसम खुल्ने प्रतीक्षामा बसे पनि त्यो सम्भावना नदेखिएपछि काठमाडौ फर्किएको गृहमन्त्रीका प्रेस सल्लाहकार किरणराज भट्टराईले सुनाए। काठमाडौं फर्किएलगत्तै मन्त्री थापा दिउँसो ३ बजेको नेकपा सचिवालय बैठकमा सहभागी भएकाे खबर अाजकाे अन्नपूर्णले लेखेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close