चिहानघाटको आईसुलेशनमा म

हातमा रक्षा वन्धन बाध्नका लागी जनै पुर्णिमाको दिन सबै जना आ आफ्नो संस्कार अनुसारको तयारी गरिरहेको समयमा म भने अफिसमा बसेर आपैmलाई सम्हाल्न नसकेर जोडजोडले रोईरहेकी थिए । जागिरको शिलशिलामा आफ्नो घरभन्दा टाढा छिमेकी जिल्लामा तीन वर्ष पहिला देखि नै बस्दै आएकी म, त्यो दिन आफ्नो वरपर सबै कर्मचारी साथीहरु र अग्रजहरु संगै भएर सम्झाउने, बुझाउने गरिरहदा पनि आफुलाई एक्लो लागीरहेको थियो । घरवाट तारन्तार आईरहेको फोनमा बोल्न सकेकी थिईन् , केवल आखाबाट आशुहरु झरिरहेको   थियो । शरिर एकातिर मन मष्तिक अर्कोतिर भए जसरी आफै शुन्यमा हराईरहेकी थिए । अघिल्लो दिन नै भाईले भोली सुर्खेत आउनु सबै जना जम्मा भएर रक्षा वन्धन बाध्नु पर्छ रमाईलो गर्नुपर्छ भनेर फोन गरेको थियो । तर मैले म आउन सक्दिन गाडी चलेका छैनन् भनेकीले भाईले त्यसो भए म मोटरसाईकलमा लिन आउछु भन्दा अफिसवाट बिदा मिल्दैन भनेर ढाटेकी थिए, घरमा पिर गर्छन् भनेर । पिसिआर परिक्षणको लागि स्वाब दिएको कुरा मैले श्रीमान बाहेक कसैलाई पनि जानकारी गराएकी थिईन् ।

प्रस्तुतिः शर्मिला विसी

रक्षा वन्धन अगाडी नै दश दिन पहिले म निकै बिरामी भैरहेकी थिए । अत्यधिक ज्वरो आउने, रुघाखोकी लाग्ने घाटीमा कफ जमेर सास रोकीए जस्तो हुने, हातखुट्टा बाउडिने आदि समस्या भैरहेको थियो । एक्कासि अत्यधिक ज्वरोले निस्लोट भएपछि म आत्तिए । राती एक बजेतिरसंगै काम गर्ने अफिसको कर्मचारी रमा दिदिलाई फोन गरे । दिदि र उहाँको छोरा आएर मलाई राती नै अस्पताल लिएर जानुभयो । त्यहाँ शुरुमा नै आर डि टि परिक्षण गरियो, रिपोर्ट नेगेटिभ आएपछि अन्य उपचार गरेर हामी विहान मात्र फर्केर कोठामा गयौ । आरडिटि नेगेटिभ आएकाले मेरो शरिरमा कोरोना भाईरस छैन भन्ने सोचमा म थिए । धेरै दिन सम्म औषधि सेवन गरिरहे पनि मलाइ निको भैरहेको थिएन । शारिरिक संगै मानसिक रुपमा पनि विरामी पर्न थाली सकेकाले होला मलाई शरिरमा फरक खालको कमजोरी महशुस भैरहेको थियो । मनमा डर , एक्लोपन र दिमाग भारि जस्तो महशुश भैरहेकाले अफिसमा काम गर्न पनि सकिरहेकी थिईन । अफिसमा अग्रजहरुले गारो छ भने घर जान सक्छौ भनेर नभन्नु भएको पनि होईन । दिर्घरोगी मेरो बाबालाई सम्झेर म घरमा जान सकिन र नजिकै छिमेकी जिल्लामा रहनु भएको श्रीमानलाई खवर गरे । उहाँ पनि बिदा मिलाएर दैलेख आउनु भयो । श्रीमान साथमा भएर होला आफ्नो मान्छे संगै छ भन्ने सोच गएछ क्यारे अलिअलि मनोवल बढ्दै गएको महशुस गरे र रोग निको नभए पनि अपिसको काम गरिनै रहे । घर जाने अत्यास मनमा भैरहेपनि नजिकै आएको तिज पर्वमा घर जान्छु भन्ने मानशिकतामा थिए । श्रीमानले भन्नुभयो अहिले नै तिमि घर नजाउ दैलेखमा समुदायमा कोरोना भाईरसको संक्रमण बढिरहेको अवस्था छ । एकपटक पिसिआर जाँच गराउनुपर्छ यतिकै ढुक्क बस्ने अवस्था छैन भनेपछि पिसिआर परिक्षणका लागी समन्वय गरेर हामी दुबै जना र म संगै काम गर्ने एकजना कर्मचारी साथि सहित तीन जनाले श्रावण सोह्र गते स्वाब दियौ ।
व्यक्तिगत बिदा सिद्धिएकाले रक्षा वन्धन को अघिल्लो दिन श्रीमान अछाम फर्केर आफ्नै अपिसमा नै क्वारेन्टिनमा बस्नुभयो । चौथो दिनमा दुईजनाको रिपोर्ट नेगेटिभ आउदा मेरो मात्र रिपोर्ट पोजेटिभ आउछ होला भनेर मैले सोचेकी पनि थिईन । मेरो पिसिआर रिपोर्ट पोजेटिभ आयो म तुरुन्त आईसोलेशन बस्नुपर्ने भयो । त्यहि अनुसारको अपिसमा पनि तयारि हुन थाल्यो । कोही एम्बुलेन्स बोलाउदै, कोही मेरो कपडा र मलाई चाहिने सामान को तयारीमा सहयोग गर्दै , कोही चाही मलाई टाढाबाट मायाले सम्झाउदै मेरो मनोवल बढाउने प्रयासमा हुनुहुन्थ्यो । म भने केही बोल्न सकिरहेकी थिईन् मात्र घर परिवारलाई सम्झिएर आशु आफै झरिरहेको थियो । एक्कासि सबै कुरा सिद्धिए जस्तो फरक प्राणी फरक संसारमा भएजस्तो अनुभुती भैरहेको थियो । न त म त्यो सब भावना र पिडा कसैलाई शब्दमा व्यक्त गर्न सक्थे न त कसैले मलाई त्यो समयमा बुझ्न नै सक्नुहुन्थ्यो । यसमा दोष कसैको होईन किनभने कोरोना पोजेटिभ हुदाको त्यो क्षण कस्तो हुन्छ भनेर बुझ्न त्यो व्यक्तिले मात्र सक्छ जसले त्यो क्षण त्यो अवस्था संग जुधेको हुन्छ । हेर्दाहेदै एम्बुलेन्स आयो , म संगै छोएर काम गर्ने हिड्ने सबैजना बिस्तारै दुरी बनाएर बस्नुपर्ने भयो साच्चिकै त्यो बेला जस्तो पिडा बोध जीवनमा मलाई अहिले सम्म याद भएका क्षणमा कहिले पनि छैन । त्यो रात तनाव, अप्ठ्यारो र रोएरै बिताए । घाटी निको नभएकाले केही खान नसकेकी म निद त मेरो आखामा आउदै आएन् । हुन त मेरो घाटीको समस्या पुरानो हो, अलिकती चिसो या पानी परिवर्तन हुने बित्तिकै टन्सिल बढ्ने र दुख्ने भैरहन्छ । जब समस्या देखिन्छ तब औषधी खाएपछि मात्र निको हुने भएकाले म हेलचक्र्याइ नगरेरै तुरुन्त औषधि लिने गर्छु । तर यो बेला औषधि खाईरहदा पनि लामो समयसम्म निको नभए पछि मलाई बढि नै डर लागीरहेको थियो । भोलीपल्ट विहानदेखि बारम्बार त्यहा कार्यरत कर्मचारी र चिकित्सक संग आफ्नो समस्या भने केही हुदैन नआत्तिनुस भन्ने बाहेक मैले अन्य औषधि पाईन् । यता म खाना खान सकिरहेकी थिईन उता आईसोलेशनमा बस्ने अन्यलाई कुनै लक्षण थिएन । मेरो समस्याका बारेमा कुरा राख्दा त्यहाका कर्मचारि र अन्य संक्रमितहरुलाई चर्को र झर्को लागीरहेको मैले महशुस गरे । न कोही आफन्त न परिवारको सदस्य एक्लोपनले पिरोल्दा शारिरीक र मानशिक रुपले निकै गलिसकेकी म औषधि नपाएपछि लगभग अब बाच्दिन होला मरे पनि ममि बाबाको नजिक जान पाए हुन्छ भन्ने सोचमा पुगे र घरमा ममिलाई रुदै फोन गरे । अपिसमा अग्रजहरुलाई पनि बिन्ति गरे मलाई घरमा पठाईदिनुस् भनेर् । सबै जनाको सहयोगले गर्दा भोलीपल्ट नै म एम्बुलेन्समा सुर्खेत हिडे तब दैलेखमा मेरो अवस्थाका विषयमा कुरा काट्न सुरु भएछ । साथिहरुले फोन गर्ने हौसला दिने गर्दा भन्नुभयो दैलेखमा त मेरो बारेमा निकै गफ चलिरहेकोछ भनेर । कोही कसैले भन्दै हिड्नुभएछ । काउन्सेलर जस्तो मान्छे कस्तो सहन नसक्ने रहेछ , हामि संक्रमित हुदा त हामीलाई केही भएको छैन । जो जसले भन्न्भयो उहा प्रती पनि मेरो केही गुनासो छैन किनभने उहाहरुलाई लक्षण र असर देखिएन भन्दैमा अरुलाई देखिदैन भन्ने छैन । त्यसमा मेरो कुनै दोष छैन बरु उहाहरु जस्तो शिक्षित मान्छेको अध्ययन र व्यक्तित्व कति रहेछ भनेर झल्किन्छ ।

मेरो अवस्थाले निकै चिन्तित हुनुभएका अफिसका कर्मचारीहरुले र म बस्ने ठाउ नजिकैका धेरैलाई पिसिआर परिक्षण गरेपछि सात जना अफिसको कर्मचारी र बाहिरको गरेर एघार जना संक्रमित आईसोलेशनमा बस्नुभएछ । सुर्खेत गुर्भाकोट नगरपालीकाको मेहेलकुनामा मेरो घर नजिकै रहेकोे सिटि हलको आईसोलेशसनमा जब म पुगे । आईसुलेसनमा पुग्ने बित्तिकै ममि मलाई भेट्न आउनुभयो , रोग र चिन्ताले निकै गलिसकेको निराश अनुहार लगाएर बसेकी मलाई म छु नानी नआतिनु के के समस्या भाछ तलाई भनेर सामान्य तरिकाले सोध्नुभयो । मैले पनि आफुमा भएका समस्याहरु बताए ममि घर फर्कनुभयो । आधा घण्टा पछि ममी हात भरि औषधी र आयुर्बेदिक झोल सहित आएर मलाई खाने तरिका र आराम गर्न भनेर जानुभयो । बाबा दिर्घ रोगी भएकाले मलाई भेट्न नआउनु भनिसकेकी थिए । दुई रात र दुई दिनभरि औषधि खाएपछि त मेरो घाटि निको हुन थालीसकेको थियो । त्यसपछि मलाई लाग्यो कोरोना भाईरसले भन्दा पनि मानिसहरु त भाईरस पोजेटिभ भएकै कारणले सामान्य औषधि पनि नपाएर पो मर्दा रहेछन् त ?
आईसोलेशनमा सुरुमा त दुई जना भाई र म तीनजना मात्र कोरोना पोेजेटिभ थियौ । म आएको तेस्रो दिनमा उनीहरुको रिपोर्ट नेगेटिभ आएकाले उनीहरु घर गए । अब त म त्यहाँ एक्लै भए, त्यही दिन अर्को एकजना नयाँ संक्रमित भाई आयो साथी त भयो भन्ने सोचे । म जन्मेको, हुर्केको, खेलेको ठाउँ जहाँ मलाई पोजेटिभ भएकै कारणले मानीसहरु टाढाबाट हेर्ने जाने गर्थे म भने दिनरात त्यो चार पर्खालले घेरिएको चिहानघाटको भवन बाट सबै कुरा नियालीरहेकी थिए । केही दिन त हो एक्लै बस्ने पछि घरमा जान पाईहाल्छु नी भनेर आफुलाई सम्हालीरहेकी थिए । दिनमा कोही आफन्तहरु मलाई भेट्न आउनुहुन्थ्यो हौसला बढाउनु हुन्थ्यो जानुहुन्थ्यो । तर जब रात पर्न थाल्थ्यो म भने रात नपरेहुन्थ्यो भनेर सोच्थे । तिन दिन सम्म त रोगले आलसतालस भएर होला केही थाहा पाईन । त्यती ठुलो भवन, जंगल छेउ मान्छे जलाउने र गाड्ने मसानघाटमा, यसैपनि रातभर भेरी नदि बगेको आवाज आईरहने बर्षाको समय नदि उर्लेर आउछ कि भन्ने डर पनि संगै थियो । चौथो दिनको राती देखि तर्साउन दिए जस्तो लाग्न थाल्यो , घर हल्लाउने , मरे भनेर केटि रोएको आवाज आईरहने , जुत्ता बजाउदै हिड्ने, भेरिको ढुंगा बजाउने , केही खसे जस्तो आवाज आउने , कोही रुने के के सुने सुने डराएर त्यो रात उ भाई लाई फोन गरेर उठाए । उनले मैले त आएकै दिन थाहा पाएको थिए, तपाई डराउनु हुन्छ कि भनेर नभनेको पो भन्छन् । त्यसपछि झन मलाई रातमा डर लाग्न थाल्यो । भवन वपिरिको बत्तिहरु सधै रातभर बलेको हुन्थ्यो । उ पनि निकै डराउने भएकाले रातभर उ भाई र म डराउदै नसुतेर एक अर्कालाई साहस दिदै बस्न थाल्यौे । यो बारेमा घरमा ममि वुवा लाई पनि भने उहाँहरुले पनि अरुले कुरा गरेको सुन्नुभाको रहेछ । आईसोलेशन खाना, पानी, विस्तरा, बत्ति, वाईफाई, कुर्ने दई जना कर्मचारी सबै व्यवस्था थियो अन्य कुराको कुनै कमि थिएन । तर पनि म त्यहाँ एक्लो थिए कुर्ने मान्छे मजाले निदाउथे म भने रातभर आखा बन्द गर्न सक्दिनथे ।

चौथो दिन देखि चौध दिन भित्रमा मेरो आत्ममा डरले जरा गाडेर बसिसकेछ, ममिले मलाई खरानी फुकाएर पठाई दिनुभयो । आत्मबल बलियो गराउन फलाम चक्कु र मैनबत्ति सबै दिनुभयो, त्यो बाहेक अरु विल्कप पनि थिएन तर मलाई भने कम हुने लक्षण नै देखिएन । चौध दिनमा मेरो र नौ दिनमा संगै बस्ने भाई हामी दुबैको पुनः पिसिआर भयो । फेरी पनि उसको रिपोर्ट नेगेटिभ आयो उ घर गयो, मेरो पोजेटिभ आएर त्यहि बस्न पर्ने भयो । अब भने मानशिक रुपमा निकै विक्षिप्त भैसकेकाले म त्यहाँ बस्न नसने अवस्थामा गैसकेकी थिए । घरपरिवार सबैलाई त्यहि कुरा भने तर फोनमा वुवा र भेटेर ममिले मलाई सम्झाउनु मात्र हुन्थ्यो । विकल्प सहितकोे सहयोग न उहाँहरुले पाउनुभयो न त मैले नै कसैवाट पाए । सबैतीरवाट भावनात्मक रुपमा हरेस खाईसकेकी म पछि पछि त दिउसोमा पनि कोठा भित्र जान डर संगै मर्न मन लाग्न थाल्यो । ममि बाबासंग दिदिलाई बोलाईदिनु नभए अब म मर्छु भनिरहने भएर ममिले निशेषआज्ञाको समयमा पनि दिदिलाई वीरेन्द्रनगरवाट बोलाउनु भयो । दिदि मलाई आत्मबल बढाउदै ढाडस दिएर रातभर त्यो मसानघाटमा मलाई कुरेर बस्नुहुन्थ्यो । म रातमा बोल्न डराउथे दिदि यता उता हिड्दै नडरा म छु भनीरहनुहुन्थ्यो । मलाई पनि थाहा छ दिदिलाई पनि डर लागीरहेको छ । म भन्दा पनि बढि डराउने मेरी दिदि लाई हेरेर असाध्यै पिर लाग्थ्यो । मेरो कारणले रातभर सुत्न पाउनुभएन भन्ने सोचेर दिदिलाई हेरिरहन्थे । म दिदिलाई हेरेर सबैभन्दा बलियो मान्छे मेरो दिदि हो भन्ने सोच्थे । म घरको आईसोलेशनमा बस्छु भन्दा मेरो रिपोर्ट पोजेटिभ आएका कारणले घरमा जान पनि दिईएन । कसले बुझ्ने त्यहाँ मलाई म माथी के बितिरहेछ भनेर, मृत आत्मा मात्र हैन जिवित व्यक्तिसंग पनि त त्यतिकै डर थियो । भन्नेले सजिलै भन्थे किन डराको केही हुदैन चिन्ता नगर भनेर तर म त्यहाँ चिहानघाटको आईसोलेशनमा मेरो उन्निस दिनको अति कष्टकर बसाई कसरी कटाए त्यो मलाई मात्र थाहा छ । आफुलाई मरेको मात्र देख्न थालीसकेकी म मृतु भन्दा अर्को सोच नआउने भैसकेकी थिए । ति प्रत्येक रात मलाई बर्ष जस्तो लागीरहेको थियो । म शब्दमा व्यत गर्न सक्दिन भयानक ती रातहरु त्यस्तै त्रासदिपुर्ण डराउन दिएका ती आवाजहरु मेरो हृदयमा कहिले पनि नमेटिने गरि बसेका छन् अहिले पनि बारम्बार कानमा गुन्जिरहन्छन् ।
मैले जे भोगे त्यसमा मेरो पेशालाई ल्याएर टिकाटिप्पनि गर्नेहरुलाई भन्न मन छ , के मनोविमर्शर्ताको मन हुदैन उनीहरु रुदैनन् उनीहरुलाई दुख्दैन उनीहरु भित्र आत्मा हुदैन ? त्यतिकै भनेका होईन रहेछन् बुढापाकाले जब मान्छेलाई आपत् पर्छ तब मात्र थाहा हुन्छ, सच्चा आफन्त शुभचिन्तक र साथिभाईहरु भनेर । कोरोना भाईरसको तेस्रो परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि अहिले म होम आईसोलेशनमा छु । अब त मेरो बाबा र ममिको आखा पनि ओभाएको छ । मलाई जिवित राख्न चाहने मेरो ममि र बाबाले मेरा अगाडी आशु नदेखाए पनि मलाई थाहा छ , चिहानघाटको आईसोलेशनमा म नसुतेर रोईरहदा डराएर बोल्न नसक्दा सबैभन्दा बढि पिडा मेरै बाबा ममिलाई भएको थियो । समाजका लागी म एउटा मुल्यहिन व्यक्ति हुला महामारीको बेला म एउटा संक्रमित हुला, मरे भने पनि देशको लागी कोरोना भाईरस सक्रमित एउटा अर्का लासको संख्यामा गणना हुला । तर मेरो बुवा आमा र परिवारको लागी एक महत्वपुर्ण संगै जिम्मेवार सन्तान हु, आशाको किरण हु । एउटा हैन दुबै जन्म र कर्म घरको धरोहर सदस्य हुन् भन्ने कुरा बिर्सिएर मेरो अनुपस्थितीमा मेरो रिपोर्ट नेगेटिभ नआईन्जेल घरमा ल्याउन दिन हुदैन भन्दै परिपन्च मिलाएर हिड्ने नारदमुनिहरु सबैलाई धेरै धन्यबाद छ । मेरो अगाडी मेरै गुणगानको बयान गरेर नथाक्ने हरु कोराना पोजेटिभ हुदा हामी कहिल्यै मर्दैनौ , कोरोना भाईरसले पनि छुदैन भनेर भ्रममा बस्नुहुने र समाजमा नारदमुनी भै रोजीरोटी चलाउदै हिड्नेहरुका लागी एउटै प्रार्थना छ ईश्वरसंग । मैले र मेरो परिवारले जे भोग्यौ उहाँहरुलाई कहिल्यै भोग्न नपरोस् यो रोग, पिडा, अनी अपहेलना । उनिहरुलाई मर्न पनि नपरोस् । उनीहरुको सन्तानलाई कोरोना भाईरसको संक्र्रमणमा परेर तड्पेर हिडेको देख्न पनि नपरोस् मेरो भगवान । किनकी म चाहन्न त्यसपछि नारदमुनिहरुलाई मलाई र मेरो परिवारको अनुहार हेर्न असहज होस् । कोही हुनुहुन्छ धन्यवादको हकदार यस्तो जटिल परिस्थितीमा पनि मलाई हृदयदेखि नै साथ, सहयोग, हौसला र सकारात्मक उर्जा प्रदान गर्ने सम्पुर्ण सहयोगी मनहरुप्रती नतमस्तक छु । सदैव क्रणि छु । कृतज्ञ छु ।
यि सब कुरा चुपचाप सुनिरहदा दुबै जना भाह्वविहल हामी उनको कुरा अनुसारको प्रतीक्रिया मेरो शरिरमा आईरहन्थ्यो उनि रुदा मेरो आखावाट आशु झथ्र्यो जब उनि डराएको कुरा गर्थिन तब मेरो मन र शरिरमा डराईरहेको अनुभुती हु्न्थो । आखाले हेर्दा सामान्य र मनोसामाजिक रुपमा यति कष्टकर भोगाई सुनेर निशब्द भएकी म, साच्चै कसरी कटाईन् होला ति रातहरु धेरै दिनसम्म मनमा कुरा खेलीरह्यो । आईसोलेशनमा बसेका छन् खान पाएकै छन् , केही काम छैन भन्नेहरुलाई कोरोना भाईरस संक्रमितहरुको यो भोगाई साच्चै कसले अन्दाज गर्छ होला र ? त्यसैले त भनिन्छ हेर्ने लाई के थाहा भोग्ने को पिडा, हेर्नेले त मात्र दृश्य देख्छ भोगाई होईन ।
(यो वास्तविक भोगाई कोरोना भाईरसबाट संक्रमित सुर्खेत निवासि निर्मला बुढाक्षेत्रीको हो । उहाँ दैलेखमा मनोविमर्शकर्ताको रुपमा सामाजिक संस्थामा कार्यरत हुनुहुन्छ । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close