
नेपाली बजारमा शुक्रवार पनि सुनको मूल्यले किर्तिमानी उचाई कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य अघिल्लो दिनको तुलनामा रू.१ हजारले बढेको हो ।
महासंघका अनुसार छापावाला सुनको प्रतितोला रू.१ लाख ३ हजार ५०० र तेजाबी सुन प्रतितोला रू.१ लाख ३ हजारमा कारोबार भइरहेको छ। यसैगरी चाँदीको मूल्य पनि शुक्रवार तोलामा रू. ६० बढेको छ ।
शुक्रवार चाँदीको मूल्य प्रतितोला रू.१ हजार ४०५ कायम भएको छ । चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च हो ।
पहेंलो धातु सुनको मूल्य केहि साता यतादेखि निरन्तर रुपमा वृद्धि भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य बढ्दै गएको छ। कोरोना महामारीबाट थला परेको अर्थतन्त्रलाई चलायमान बनाउन कतिपय देशका केन्द्रीय बैंकहरुले न्यून ब्याजदर र पुनरुत्थानका योजनाहरु ल्याएकाले सुनको मूल्य उकालो लाग्न सहयोग पुगेको अनुमान छ ।