वीरेन्द्रनगरका चार विद्यालय बन्द गर्न निर्देशन

सुर्खेत । वीरेन्द्रनगरस्थित सञ्चालनमा आएका विद्यालयहरुलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । कोरोना महामारीका बीचमा सञ्चालनमा ल्याएको विद्यालयहरुलाई बन्द गर्न प्रशासनले निर्देशन दिएको हो ।

लामो समयसम्म देशभर लकडाउन भएको अवस्थामा शिक्षण संस्थाहरु पनि पूर्ण रुपमा बन्द गरिएको थियो । सरकारले गत साउन ७ गते लकडाउन अन्त्य भएको घोषणा गरेको छ तर शिक्षण संस्थाहरुको हकमा भने सरकारको अर्को निर्णय सार्वजनिक नहुन्जेलसम्मका लागि बन्द गर्न भनेको छ ।

यस अवस्थामा सरकारको निर्णयलाई अवज्ञा गर्दै सुर्खेतको वीरेन्द्रनगरमा भने केही विद्यालयले पठन–पाठन सूचारु गरेका थिए । पठन–पाठन सञ्चालन गरेका ती विद्यालयहरु सरुवा रोग नियन्त्रण कार्यविधि विपरित भएको भन्दै जिल्ला प्रशासन कार्यालयले बन्द निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालयबाट मंगलबार र बुधबार वीरेन्द्रनगरमा गरिएको अनुगमनमा अमर ज्योती नमूना उच्च माध्यामिक विद्यालय नेवारे, आदर्शराज मेमोरियल सेकेन्डरी स्कुल, सुर्खेत होराइजन एकेडेमी र सेन्टमेरिज को–अपरेटिभ स्कुल सञ्चालन गरेको पाइएपछि उनिहरुलाई बन्द गर्न निर्देशन दिइएको हो ।
यता, विद्यालय सञ्चालकहरुले भने विश्व स्वास्थ्य संगठनले निर्देश गरेको मापदण्ड अनुसार विद्यालय सञ्चालन गर्दा पनि बन्द गर्न खोजिएको बताएका छन् ।

‘विद्यार्थी अभिभावकहरुसँगको सहमति र प्याव्सनको निर्णय बमोजिम विद्यालय सञ्चालनमा ल्याएको हौं’ सुर्खेत होराइजन एकेडेमीका प्रिन्सीपल घनश्याम खड्काले भने, ‘विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम एक बेन्चमा एक विद्यार्थी राखेर कक्षा सञ्चालन गरिएको थियो ।’

विद्यार्थीको पठन–पाठनमा वाधा पुगेपछि घरबाटै शिक्षा आर्जन गर्नको लागि भर्चुअल कक्षा (अनलाइन कक्षा) संचालन गरेपनि कर्णाली प्रदेशका सबै भु–भागमा ईन्टरनेट सेवाको पँहुच नभएपछि भौतिक दुरी कायम राख्दै विद्यालय सञ्चालन गरिएको उनको भनाई छ ।
यस्तो अवस्थामा समेत सरकारले निजी र सरकारी विद्यालयबीच विभेद् गरेको उनले बताए । ‘यहाँ सरकारी विद्यालय विगतदेखि सञ्चालन भैरहेको थियो तर केही निर्णय लिन सकेन हामी निजी विद्यालय सञ्चालकले डब्ल्यु एच ओ को मापदण्ड पु¥याउँदा समेत बन्द गर्न निर्देशन गरियो’ प्रिन्सीपल खड्काले भने, ‘प्रशासनको यो कार्य हामी निजी विद्यालय सञ्चालकहरुमाथी गरिएको विभेद हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close