नेपालमा २२ सङ्क्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै

नेपालमा कोरोनाभाइरसका २२ जना सङ्क्रमित सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा छन् । कोरोनाभाइरस सङ्क्रमितमा श्वास लिन कठिनाइ भएपछि कृत्रिम रुपमा शरीरमा वायु सञ्चारको लागि भेन्टिलेटरमा राखिन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार मात्रै २२ जना काेभिड १९ सङ्क्रमितलाई भेन्टिलेटर र आईसीयूमा राखेर उपचार गरिँदैछ । नेपालमा हाल पाँच हजार ३६० जना बिरामीमा भाइरसको सङ्क्रमण सक्रिय छ । सक्रियमध्ये २२ जनालाई सघन उपचारको आवश्यकता परेको हो अर्थात् नेपालमा अहिलेको सक्रिय सङ्क्रमितको ०.४१ प्रतिशत बिरामीलाई सघन उपचार कक्षमा उपचार गरिँदैछ ।

छिमेकी राष्ट्र भारतमा भने कोभिड–१९ को सङ्क्रमितको करिब चार प्रतिशत बिरामीलाई आईसीयू र भेन्टिलेटरको आवश्यकता महसुस गरिएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा १४ जना सङ्क्रमितलाई आईसीयू र भेन्टिलेटरको आवश्यकता परेको छ । प्रदेश २ मा पाँच, प्रदेश ५ मा दुई तथा कर्णाली प्रदेशमा एकजनालाई आईसीयू र भेन्टिलेटरमा राखिएको हो ।

शरीरको मुख्य अङ्ग मुटु र फोक्सोको चालबारे जानकारी राख्न आईसीयूमा भर्ना गरिन्छ ।
(गोरखापत्र अनलाइनबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close