हरेक दिन फेला पर्दैछन् कोरोनाका नयाँ तथ्य, यी हुन् १० लक्षण

कोरोना भाइरस (कोभिड–१९) को प्रमुख लक्षण उच्च ज्वरो, खोकी तथा सास फेर्न गाह्रो हुनु हो। तर यति मात्र नभएर नयाँ किसिमका लक्षणहरू पनि देखा परेका छन्।  वैज्ञानिकले यसका लक्षणबारे हरेक दिन नयाँ तथ्य फेला पार्दै गइरहेका छन्। वैज्ञानिकका अनुसार सुरुवातमा कुनै सामान्य रुघाखोकी जस्तै देखिएको र कुनै चाहिँ फरक देखिएका छन्।

यसका लक्षण शरीरमा भाइरस प्रवेश गरेको २ देखि १४ दिनमा देखा पर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ। यहाँ कोरोनाका १० लक्षण र ती लक्षण देखा परे अन्यमा सर्न नदिन के गर्नुपर्छ भन्ने बारे चर्चा गरिएको छ।

सास फेर्न गाह्रो हुने
सास फेर्न गाह्रो हुने सामान्यतः कोरोना भाइरसको सुरुवाती लक्षण होइन। तर यो सबभन्दा गम्भीर लक्षण हो।

विज्ञका अनुसार यो खोकी बिना पनि हुन्छ। यदि तपाईँलाई छाती कसिएको जस्तो महसुस भएर लामो सास फेर्न सक्नु भएको छैन भने तुरुन्त विज्ञ डाक्टरसँग सम्पर्क गर्ने र परामर्श लिनुपर्ने हुन्छ।

उच्च ज्वरो
उच्च ज्वरो कोरोना भाइरसको खास लक्षण हो। तर शरीरको सामान्य ताप व्यक्तिपिच्छे फरक हुने गर्छ। जसले मानिसमा केही भ्रम समेत पैदा भएको छ।

विज्ञहरूले ३७ डिग्री सेल्सियस अर्थात् ९८.६ फरेनहाइटलाई औसत शरीरको ताप भनेका छन्। तर कतिपयको सामान्य ताप सोभन्दा कम हुने गरेको छ। त्यसैले १०० डिग्री भन्दा माथि मात्र असमान्य भनिए पनि सोभन्दा कम ज्वरो पनि कतिपयलाई खतरा हुने बताइएको छ।

औसत मानिसले १०० डिग्रीभन्दा माथि ज्वरो भएपछि मात्र शरीरको ताप बढेको महसुस गर्ने गरेको विज्ञहरूले बताएका छन्।

सुक्खा खोकी
खोकी सामान्य रुघामा पनि लाग्ने गर्छ। तर कोरोना भाइरस संक्रमण भएका व्यक्तिमा सुक्खा खोकी लाग्ने गरेको छ। यो सामान्य खोकी भन्दा अप्ठ्यारो महसुस गराउने फरक खोकी हो।

अध्ययनका अनुसार यो खोकी घाटी सफा गर्नलाई भएको खोकी जस्तो होइन। अन्य खोकी लाग्दा व्यक्तिले खकार्ने गर्छ। घाँटी सफा गर्छ। तर यसमा त्यस्तो हुँदैन।

संक्रमित बिरामीहरूको भनाइअनुसार यसमा भित्री छातीमा खोकी हुन्छ। तर सुक्खा खोकी हुने भएकाले निकै पीडादायी हुन्छ।

दृष्टिभ्रम हुने तथा शरीर दुख्ने
कोरोना संक्रमण हुँदा दृष्टिभ्रम हुने तथा शरीर दुख्ने गरेको पाइएको छ। कोरोना संक्रमित सीएनएनका पत्रकार क्रिस क्यूओमोले यस्तो महसुस गरेको बताएका छन्।

उनले राती कोही आएर आफूलाई कुटिरहेको जस्तो लागेको र पछि शरीर दुख्न थालेको बताएका छन्। उनले कहिल्यै नदेखेका कलेजका मान्छे तथा आफ्ना बाबुसँग कुरा गरिरहेको भ्रम भएको पनि बताएका छन्। ‘म भ्रमित भइरहेको थिएँ’, उनले भनेका छन्, ‘मसँग मेरो बुवा कुरा गर्दै हुनुहुन्थ्यो। मैले कलेजमा कहिल्यै नदेखेका मान्छेहरू देखिरहेको थिएँ।’

अचनाक अलमल/भ्रम
कोरोनाको लक्षणमध्ये अचनाक अलमल वा भ्रम हुनु पनि एक जटिल लक्षण हो। अमेरिकाको रोग नियन्त्रण तथा निवारण केन्द्रका अनुसार यस्तो लक्षण देखा परे तुरुन्त सघन कक्षमा उपचार गर्नुपर्ने हुन सक्छ।

त्यसैले ओठ निलो हुँदै गयो तथा सास फेर्न गाह्रो समेत हुँदै गयो र बिरामी अचनाक अलमल हुन थाल्यो भने तुरुन्त स्वास्थ्य विशेषज्ञको सल्लाहमा अस्पताल भर्ना गर्नुपर्छ।

पाचनमा समस्या
सामान्यतः श्वासप्रश्वासको रोगमा पेट सम्बन्ध समस्या हुने कुरामा ध्यान जाँदैन। तर कतिपय कोभिड–१९ संक्रमितहरूमा पाचन समस्या पनि देखिएको छ।

सीएनएनका प्रमुख संवादाता डा. सन्जय गुप्ताका अनुसार केही संक्रमितमा पखाला र ग्यास्ट्रिकको समस्या समेत देखिएको छ।

गुलाबी आँखा
चीन, दक्षिण कोरिया तथा विश्का अन्य क्षेत्रका संक्रमितमा गरिएको अध्ययन अनुसार करिब १ देखि ३ प्रतिशतमा गुलाबी आँखा हुने लक्षण देखिएको छ। यो पातलो झिल्लीको रूपमा हुन्छ। यसले आँखाको सेता भागलाई ढाक्ने गर्छ।

गन्ध र स्वाद थाहा नपाउने
गन्ध र स्वाद थाहा नपाउनु पनि कोरोना भाइरसको एक लक्षणको रूपमा पछिल्लो समय पत्ता लागेको छ। डा. गुप्ताका अनुसार यस्ता लक्षण भएका बिरामीको संख्या बढिरहेको छ।

तर यो लक्षण भाइरस संक्रमणको सुरुवातमा भने देखिएको छैन।

थकान महसुस हुने
कतिपय संक्रमितमा सुरुवातमै चरम थकान भएको देखिएको छ। डब्लूएचले ६ हजार संक्रमितमा गरेको अध्ययन अनुसार करिब ४० प्रतिशतमा यस्तो लक्षण देखा परेको छ।

टाउको दुख्ने तथा घाँटी दुख्ने
डब्लूएचओले चीनका ६ हजार संक्रमितमा गरेको अध्ययन अनुसार १४ प्रतिशतमा यस्तो लक्षण देखा परेको छ। यी लक्षण अन्य फ्लूको जस्तै भएको विज्ञले बताएका छन्।

विज्ञका अनुसार कोरोना संक्रमण हुँदा सामान्यतः चिसो वा रुघा लागेजस्तो हुने त्यसपछि ज्वरो र खोकी समेत लाग्ने गरेको छ।

यस्ता लक्षण देखा परे के गर्ने ?
यस्ता लक्षण देखा परेमा सरकारको निर्देशन तथा स्वास्थ्यकर्मीको सल्लाहलाई पालना गर्नुपर्छ। अरूलाई सर्नबाट रोक्न यस्तो अवस्थामा घरमै बस्ने अर्थात् आइसोलेसनमा बस्नुपर्ने हुन्छ। यसैगरी जोखिम कम गर्न खानपिनमा ध्यान दिने साथै आराम गर्नुपर्ने विज्ञको सुझाव छ।

यदि तपाईँ ६० वर्षभन्दा माथि तथा गर्भवती हुनुहुन्छ भने यस्तो लक्षण देखा पर्ने बित्तिकै स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुपर्छ।

(एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close