घुमफिर र अध्ययनमा पाँच महिनामै बाहिरियो साढे ३१ अर्ब

विदेश घुम्न र पढ्नका लागि चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मङ्सिर) मा मुलुकबाट ३१ अर्ब ५२ करोड रुपैयाँ बाहिरिएको छ। भ्रमण र उच्च शिक्षा अध्ययनका नाममा मात्र पाँच महिनामै त्यति ठूलो रकम बाहिरिएको हो।

यद्यपि, गत वर्षभन्दा यस वर्षको पाँच महिनामा बाहिरिने रकममा २३.७ प्रतिशतले कमी आएको छ। गत वर्षको सोही अवधिमा ४१ अर्ब ३४ करोड रुपैयाँ मुलुकबाट बाहिरिएको राष्ट्र बैंकको तथ्याङ्क छ।

चालु आवमा बाहिरिएको कूल ३१ अर्ब ५२ करोडमध्ये शिक्षातर्फ १४ अर्ब ७६ करोड रहेको छ। गत वर्ष यही अवधिमा शिक्षातर्फ २२ अर्ब १४ करोेड रुपैयाँ बाहिरिएको थियो।

चालु आवमा विदेशी मुद्रा सटहीमा नेपाल राष्ट्र बैंकले कडाइ गरेका कारण घुमफिर तथा अध्ययनका नाममा मुलुकबाट बाहिरिने रकममा कमी आएको हो।

राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै विदेश जाने नेपाली नागरिकलाई विदेशी मुद्रा सटहीमा अङ्कुश लगाएपछि मुलुक बाहिरिने रकममा कमी आएको हो।

राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति ११ महिनालाई पुग्ने राख्ने गर्दथ्यो। तर, अहिले साढे ८ महिनालाई पुग्ने रकम पनि नभएको अर्थविद् डा.चन्द्रमणि अधिकारीले बताए।

‘केन्द्रीय बैंकसँग विदेशी मुद्रा सञ्चितिमा कमी आएपछि विदेश जाने नागरिकलाई विदेशी मुद्रा सटहीमा कम गर्न पुग्यो,’ उनले भने, ‘जसका कारण विदेशिने रकममा कमी आएको हो।’

राष्ट्र बैंकले सार्वजनिक गरेको मङ्सिरसम्मको मुलुकको आर्थिक अवस्था तथा वित्तीय स्थितिमा कूल विदेशी विनिमय सञ्चिति १० खर्ब ८८ अर्ब ३१ करोड रुपैयाँ कायम भएको उल्लेख छ। उक्त सञ्चितिले ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ।

त्यसैगरी, पहिला विदेशी मुद्रा सटही गरेर नगद लैजाने चलन थियो। तर, अहिले नगदको सट्टा कार्ड बोकेर हिँड्ने र आवश्यक परेको समयमा कार्डबाट रकम झिक्न सकिने भएकाले पनि विदेशी मुद्रा सटहीमा कमी आएको अर्थविद् अधिकारीको भनाइ छ।

‘भारतमा जाँदा नगदको सट्टा एटिएम बोक्न थालियो,’ उनले भने, ‘अन्य देशमा जाादा पनि यस्तै कार्डको प्रयोग गर्न थालिएका कारण विदेशी मुद्रा सटहीमा कमी आएको हो।’

वैधानिक बाटोबाट राष्ट्र बैंकले आवश्यक मात्रमा विदेशी मुद्रा सटही गर्न नदिँदा अवैधानिक बाटोबाट विदेशी मुद्रा सटही गरेकाले पनि वैधानिक रूपमा विदेशी मुद्रा सटहीमा कमी आएको देखिएको हुनसक्ने अर्थविद्हरूले अनुमान गरेका छन्।

गत वर्षभन्दा यस वर्ष नेपालीले विदेशमा घुमघाम र अध्ययनमा कम खर्च गरेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।

केही वर्षयता अध्ययन र भ्रमणका नाममा ठूलो रकम बाहिरिँदै आएकोमा चालु वर्षको सुरुदेखि त्यस्तो खर्च घटेको राष्ट्र बैंकको पछिल्लो आर्थिक तथा वित्तीय प्रतिवेदनले देखाएका हो।

सरकारले कर्मचारीको विदेश भ्रमणमा कडाइ गरेको, राष्ट्र बैंकले विदेशी मुद्रा सटही सुविधाको सीमा घटाएको लगायतका कारण घुमघाम र अध्ययनका लागि बाहिरिने खर्च घटेको हो।

राज्यको नीतिगत व्यवस्थाका कारण विदेश भ्रमणमा बाहिरिने खर्च घटेको हुनसक्ने राष्ट्र बैंकको भनाइ छ। राष्ट्र बैंकले पनि विदेशी मुद्रा सटही सुविधामा कडाइ गरेको छ।

सरकारले कर्मचारीको विदेश भ्रमणमा कडाइ गरी मातहतको मन्त्रालयबाट स्वीकृत गराएर मात्र विदेश जान पाइने व्यवस्था गरेको छ। यसले पनि विदेशमा अध्ययन र भ्रमणमा जानेमा कमी आएको अनुमान गरिएको छ।

गत वर्ष विदेशमा अध्ययनकै लागि ४६ अर्ब ३२ करोड रुपैयाँ बाहिरिएको सरकारी तथ्याङ्क छ। अघिल्लो वर्ष यस्तो रकम ३८ अर्ब ८ करोड रुपैयाँ थियो।

भारत, चीन, अमेरिका, अस्ट्रेलिया, जापानलगायत राष्ट्रमा पढ्न जाने विद्यार्थी सङ्ख्या बढेको छ। तर, विदेशी मुद्रा सटहीमा भने कमी आएको देखिन्छ।

राष्ट्र बैंकले डलर सटहीमा कडाइ गर्दै गत वर्षदेखि शिक्षा, आप्रवासन, स्वास्थ्यलगायतका प्रयोजनका लागि अमेरिकी डलर पाँच हजारभन्दा बढी माग गर्ने नेपालीले अनिवार्य रूपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने व्यवस्था गरेको छ।

यस्तो प्यान नम्बर सटही माग गर्ने व्यक्ति वा निजको एकाघरका सदस्यमध्ये आमा वा बुबा कुनै एकको भए पनि सटही सुविधा प्रदान गर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

राष्ट्र बैंकले यसअघि कुनै पनि नेपाली नागरिकलाई भारतबाहेक तेस्रो मुलुक जाँदा २ हजार ५ सय अमेरिकी डलर दिँदै आएको थियो। त्यसलाई कटौती गर्दै अहिले कुनै पनि व्यक्तिले नगदमा १ हजार ५ सय अमेरिकी डलरभन्दा बढी सटही सुविधा नपाउने व्यवस्था गरेको छ।

राष्ट्र बैंकले नगद सुविधाबाहेक टिटी सुविधा पनि घटाएको छ। यसअघि ४० हजार अमेरिकी डलरको टिटी सुविधा घटाएर ३० हजारमा झारिएको छ। डलर सञ्चितिमा कमी आएका कारण डलरमा कटौती गर्न राष्ट्र बैंक बाध्य भएको थियो।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बिभिन्न कारणले डलर सटहीको सुविधा कटौती गरिएको बताए। ‘पूर्वसावधानी अपनाउन यस्तो व्यवस्था गरिएको हो,’ उनले भने।

राष्ट्र बैंकको यस्तो व्यवस्थाले विदेश जाने नागरिकलाई भने समस्या आएको गुनासो आउने गरेका छन्।

विष्णु बेल्वासे नेपाल न्युजका लागि समाचार लेख्नुभएकाे छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close