अन्ततः उपसभामुख तुम्बाहाङ्फे राजीनामा गर्न विवश

काठमाडौं, माघ ६ । अन्ततः उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा गरेर सभामुख चयनका लागि बाटो खोलिदिने भएकी छिन् ।

उनले प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुखलाई सम्बोधन गरेर संसद् सचिवालयमा राजीनामा दिने भएकी हुन् । आज प्रतिनिधिसभा बैठक बस्नुअघि राजीनामा दिने उनीनिकट स्रोतको भनाइ छ ।

नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले दबाब दिएपछि राजीनामा गर्न उनी बाध्य भएकी हुन् ।

अन्तिम समयसम्म पनि सभामुखले गरेको अपराधको दण्ड आफूलाई भोगाउन खोजिएको भन्दै उपसभामुख पदबाट राजीनामा नदिने अडानमा रहेकी उनी प्रधानमन्त्री ओलीसँगको छलफलपछि पद त्याग्न लागेकी हुन् ।

सभामुखमा आफ्नो नाम प्रस्ताव हुनसक्ने आशासहित उम्मेदवार तय भएपछि निकास दिने बताउँदै आएकी तुम्बाहाङ्फेले आइतबार नेकपा सचिवालय बैठकअघि ओलीसँग भेट गरेकी थिइन् । उनले आफ्नो के दोष हो र के को दण्ड दिन खोजिएको भन्दै प्रश्नसमेत गरेकी थिइन् ।

उपसभामुखको राजीनामापछि आजको बैठकको अध्यक्षता भने प्रतिनिधिसभाका जेष्ठ सदस्य राजपा नेता महन्थ ठाकुरले गर्नेछन् ।

उपसभामुख तुम्बाहाङ्फेले संसद् बैठकपछि पत्रकार सम्मेलन गर्ने तयारी पनि गरेकी छिन् ।

तुम्बाहाङ्फेलाई भने शहरी विकास वा कानून मन्त्रालय मध्ये एकको जिम्मेवारी दिने गरी तयारी पनि सँगै गरिँदैछ ।

आफ्नै कार्यालयकी कर्मचारीलाई बलात्कार प्रयासको अभियोगमा तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोजमा राजिनामा दिएपछि प्रतिनिधि सभाको सभामुख पद रिक्त रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close