ख्रिष्टमस महोत्सवमा खुशीयाली बाढ्दै, सबै धर्मलाई समान व्यवहार गर्ने सभामुख

धरान । धरानका इसाईहरुद्धारा आयोजना गरिएको ख्रिष्टमस महोत्सव–२०७६ बिहिबार धरान सभागृहमा उद्घाटन भएको छ । शुक्रबारसम्म सञ्चालन हुने उक्त महोत्सवमा धरानका इसाई तथा गैरइसाईहरुले सामुहिक रुपमा खुशीयाली बाढेका छन् ।
महोत्सवको उद्घाटन गर्दै १ नम्बर प्रदेशका सभामुख प्रदिप कुमार भण्डारीले नेपालमा रहेका सबै धार्मिक समुदायलाई समान व्यवहार हुने बताएका छन् । सरकारका कार्यपालिका तथा व्यवस्थापिकाका प्रमुखहरुको प्रमुख आतिथ्यतामा कार्यक्रम हुनु भनेको पनि सरकारले सबै धार्मिक समुदायलाई समान व्यवहार गर्छ भनेर बुझिदिन ख्रिष्टियन समुदायलाई आग्रह गरेका छन् । उनले उद्घाटन गर्दै भने–“कसैले थोरै छ भनेर हेप्न पाउदैन, राज्यको कुनै खास धर्म हुँदैन तर सबैलाई समान दृष्टिले व्यवहार गरि आफ्ना धर्म मान्न र अभ्यास गर्न पाउने अधिकार प्रदान गरेको छ ।”
सभामुख भण्डारीले आगमी पुष ९ गते क्रिसमस डे परेको हुनाले सार्वजनिक विदा हुने बताएका छन् । संघीय सरकारले क्रिश्चियनहरुका लागि मात्र विदा दिने निर्णयमा पुर्नविचार गर्ने र सार्वजनिक विदा दिने तयारी गरेको भन्दै सबै ख्रिष्टियनहरुको खुशीयाली र महान पर्वमा सहभागिता जनाउने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता मुक्सामहाङ मेन्याङ्बोले संविधानमा धर्मनिरपेक्षताको व्याख्यामा गलत शब्द प्रयोग भएको र सोही अनुसार कानुन बनेका कारण ख्रिष्टियन समुदायलाई अप्ठ्यारो परेको हुनाले त्यसलाइं संशोधन गर्न र कानून परिवर्तन गराउन कम्युनिष्टहरुलाई साथ दिनुपर्ने बताए । क्रिश्चियन र कम्युनिष्टको उद्देश्य समतामुलक समाज निर्माण नै भएको हुनाले आगमी दिनमा पनि सहकार्य जारी रहने बताए ।
उद्घाटन समारोहमा १ नम्बर प्रदेश इसाई समाजका अध्यक्ष पाष्टर विक्रम बर्णवास यक्तेनले येशु ख्रिष्ट सबै मानिसका लागि जन्मनु भएको भन्दै संसारभरका मानिसहरु क्रिसमस डेमा खुशीयाली हुनुपर्ने बताए । उनले क्रिश्चियनहरुलाई राज्य र समाजले फरक रुपमा नबुझी नेपाली क्रिश्चियनहरु देश र समाजका लागि दिनरात प्रार्थनामा लागेको बताए ।
दुई दिन सम्म सञ्चालन हुने उक्त कार्यक्रममा धरानका ७० भन्दा बढि चर्चहरुको सहभागिता रहेको छ भने महोत्सवमा गित संगितका साथै २१ वटा विभिन्न व्यवसायिक स्टलहरु समेत रहेका छन् । उक्त महोत्सवमा ३० हजार भन्दा बढि आन्तरिक र बाह्य पर्यटकहरुको भ्रमण हुने अपेक्षा गरिएको आयोजक समितिका अध्यक्ष पाष्टर महेन्द्र जंग साम्पाङले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close