प्रचण्ड र ईश्वर पोखरेलबीच भेटघाट, के भयो कुरा ?

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद बढिरहँदा नेताहरुबीच छलफलले तिव्रता पाएको छ । यसैक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सचिवालय सदस्य ईश्वर पोखरेलबीच भेटघाट भएको छ ।

शुक्रवार बिहान प्रचण्डसँग भेट्न पोखरेल प्रचण्डनिवास खुमालटार पुगेको स्रोतले जनाएको छ ।

उप्रधानमन्त्री समेत रहेका पोखरेलले पार्टी विवाद समाधानका लागि साझा प्रस्तावको लागि अध्यक्ष प्रचण्डसँग आग्रह गरेको बताइएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीचको टकराव बढिरँहदा पार्टी फुटको अवस्था पुगेको छ । पार्टी फुटबाट बचाउँन र एकता कायम गर्न नेकपाका दोस्रो तहका नेताहरुले सक्रियता बढाएका छन् ।

हिजो महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

गत कार्तिक २८ गते प्रचण्डले ओलीमाथि संगिन आरोपहरु लगाउँदै सचिवालयमा एकल प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि तीन गते बसेको सचिवालय बैठकमा ओलीले प्रतिउत्तरका लागि १० दिनको समय माग गरेका थिए । १३ गते बसेको नेकपा सचिवालय बैठकमा ओलीले प्रतिउत्तरस्वरुप राजनीतिक प्रस्ताव पेश गरेका थिए । दुवैको प्रस्तावका विषयमा छलफल गर्न बुधवारका लागि सचिवालय बैठक बोलाइएपनि ओली अनुपस्थित रहेसँगै केहीबेर बसेर बैठक सकिएको थियो । नेकपा सचिवालय बैठक शनिवार (भोली) बस्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close