Murti

सुरु गर्‍यो हाम्रो पात्रोले म्यासेज तथा भिडियो कलिङ सेवा, नेपाली भाषामै प्रयोग गर्न सकिने

नेपालकै सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोले अडियो तथा भिडियो कल र म्यासेज सेवा सुरु गरेको छ । कम्पनीले एन्ड्रोइड प्रयोगकर्ताका लागि इन्स्ट्यान्ट म्यासेजिङ सेवाको रुपमा ‘हाम्रो म्यासेज सञ्चालनमा ल्याएको हो ।

आईओएस प्रयोगकर्ताले भने यो सुविधा प्रयोग गर्न थप केही समय कुर्नुपर्नेछ । हाल आईओएसका लागि आन्तरिक टेस्टिङको काम चलिरहेको भन्दै हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले आउँदो मार्च सम्म लाइभ गर्ने योजना रहेको जानकारी दिए ।

यससँगै भाइबर, ह्वाट्सएप, इमो, म्यासेञ्जर लगायतका एपहरुको बीचमा स्वदेशी विकल्प तयार भएको उनले बताए । अब हाम्रो पात्रोका प्रयोगकर्ताले आफ्नो मोबाइल साइन अप गरी सहजै हाम्रो म्यासेज प्रयोग गर्न सक्ने उनले जानकारी दिए ।

‘यसमा प्रयोगकर्ताको गोपनीयताका लागि इन्ड टु इन्ड इन्क्रिप्सन फिचर प्रयोग गरिएको छ, यसको अर्थ हाम्रो म्यासेज अन्तर्गत हुने अडियो तथा भिडियो कुराकानी वा च्याटमा सम्बन्धित प्रयोगकर्ता बाहेकको अन्य कसैको पनि पहुँच हुने छैन’ उनले भने, ‘यतिसम्म कि हाम्रो पात्रोले चाहेको अवस्थामा समेत प्रयोगकर्ताको म्यासेज हेर्न सक्ने छैन ।’

हाल यसमा अडियो तथा भिडियो कल गर्न सकिने, च्याट गर्न तथा फोटो र स्टिकरहरु पठाउन सकिने फिचर उपलब्ध छ । हाम्रो म्यासेज सेवा प्रयोग गर्दा अन्य एपको भन्दा डेटा खपत समेत कम हुने कम्पनीले बताएकाे छ ।

कम्पनीले दिएकाे जानकारी अनुसार एप अंग्रेजी तथा नेपाली दुवै भाषामा प्रयोग गर्न सकिनेछ । यससँगै हाम्रो पात्रो नेपाली भाषामा म्यासेजिङ सर्भिस दिने पहिलो एप समेत बनेको छ ।

हाम्रो म्यासेज सेवा हाललाई नेपाल सहित भारत, अमेरिका, यूएई, जापान, अस्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया, मलेसिया, न्युजिल्याण्ड, कतार, साउदी अरब र यूके मा प्रयोग गर्न सकिनेछ । अबको दुई तीन सातामा अन्य देशमा रहेका प्रयोगकर्ताका लागि यो सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

साथै भिडियो कल गर्दा इन्टरनेटको ब्याण्डविथ अनुसार गुणस्तर घटबढ हुने गरी एडप्टिभ बनाइएको छ । गुणस्तरिय तथा फास्ट इन्टरनेट भएको अवस्थामा हाम्रो म्यासेजमा एचडी अर्थात उच्च गुणस्तरमा भिडियो कल गर्न सकिन्छ ।

हाम्रो म्यासेज सेवासँगै हाम्रो पात्रोको इन्टरफेस तथा डिजाइन समेत परिवर्तन गरिएको छ । कम्पनीका अनुसार धेरै सामग्री एकै स्थानमा हुँदा खोज्न गाह्रो भएको प्रयोगकर्ताको गुनासो सम्बोधन गर्न यसो गरिएको हो । अब भने प्रयोगकर्ताले हाम्रोपात्रोमा उपलब्ध सेवाहरु सहजै फेला पार्न तथा प्रयोग गर्ने सक्नेछन् ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close