
विराटनगरमा सप्तरीबाट बिरामी लिएर आएको एम्बुलेन्स सडकमा रोकिराखेको ट्रकमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिकास्थित कोशी राजमार्गमा सप्तरीको तिलाठीबाट बिरामी लिएर आएको एम्बुलेन्स राति (सोमबार बिहान करिब १ बजे) सडकमा रोकिराखेको ट्रकमा ठोक्किँदा दुर्घटनामा भएको हो ।
एम्बुलेन्समा सवार बिरामी तिलाठी कोइलाडीका ६५ वर्षीय नुनुलाल मण्डलको नोबेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख सन्तोष खड्काका अनुसार सप्तरीबाट विरामी लिएर आएको स १ च १९२२ नम्बर एम्बुलेन्स एनएल ०१ एल ०३३६ नम्बरको भारतीय लहरीमा ठोक्किन पुगेको थियो ।
घटनामा बिरामी लिएर आएका आफन्त रामसुन्दर मण्डल, भोलीदेवी मण्डल र जितेन्द्र मण्डल घाइते भएका छन् । उनीहरुको पनि नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार बिरामी नुनुलाललाई श्वासप्रश्वासमा समस्या भएपछि राति नै उपचारका लागि विराटनगर ल्याइएको हो। ट्रक भने बिग्रिएर सडकमा राखिएको बताइएको छ । ट्रक र एम्बुलेन्सका चालक हरिनारायण यादव दुवै बेपत्ता छन् । प्रहरीका अनुसार दुवैको खोजी भइरहेको छ ।