असारे विकासको अन्त्य गर्नु आवश्यक छ: मन्त्री श्रेष्ठ

जलस्रोत तथा उर्जा मन्त्री दीनबन्धु श्रेष्ठले आर्थिक वर्षको अन्त्यमा गरिने विकास निर्माणका काम प्रभावकारी नहुने बताउँदै तोकिएकै समयमा कार्यान्वयन गर्ने परम्पराको विकास गर्न आवश्यक रहेको बताएका छन् ।

उनले असारको अन्त्यतिर निर्माण कार्य सम्पन्न गरेर प्रगति विवरण बुझाउने अहिलेको परम्पराको अन्त्य जरुरी रहेको बताए ।
शुक्रबार मन्त्रालयका सचिव, योजना महाशाखा प्रमुख र १० वटै जिल्लाका कार्यालय प्रमुखसँगको भर्चुअल बैठकमा मन्त्री श्रेष्ठले असारको अन्त्यतिर गरिने विकासको कामले गुणस्तरमा प्रश्न उठ्ने भएकाले तोकिएकै समयमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताए ।
मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटलाई समयमै कार्यान्वयन गर्नेतर्फ अहिलेदेखिनै योजना बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । ‘आगामी आर्थिक वर्षको बजेट मन्त्रालयले वितरणमुखि नभएर कार्यान्वयनमुखि ल्याएको छ,’ मन्त्री श्रेष्ठले भने, ‘त्यसैले समयमै सम्पन्न गर्नका लागि अहिलेदेखिनै योजना बनाउन लाग्नुहोस् ।’

उनले कर्णालीका विकास योजनाहरुको कार्यान्वयन पक्ष एकदमै कमजोर रहेकाले अहिलेदेखिनै त्यसलाई सच्याउँदै लिनुपर्ने बताए । ‘मन्त्रालयबाट बजेटको अख्तियारी पाउनासाथ कार्यान्वयनतर्फ लागे समयमै कामहरु सम्पन्न हुन्छन्, असार कुर्नु पर्दैन्,’ जलस्रोत तथा उर्जा मन्त्री श्रेष्ठले भने, ‘त्यसका लागि सबै कार्यालयहरुले कार्ययोजना बनाएर काम गर्नु आवश्यक छ ।’ मन्त्री श्रेष्ठले विकास निर्माणका कामहरु प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि मन्त्रालयकातर्फबाट आवश्यक सहजीकरण हुने पनि बताए ।
‘केही समस्या परेमा तत्कालै खवर गर्नुहोस्, मन्त्रालयले सहजीकरण गर्छ,’ उनले भने, ‘कुनै पनि बहाना बनाएर आर्थिक वर्षको अन्त्यसम्म कुर्ने कामको अन्त्य हुनु आवश्यक छ ।’

बैठकमा जिल्लास्थित कार्यालय प्रमुखहरुले आवश्यक प्राविधिक जनशक्ति नहुँदा काममा समस्या हुने गरेको बताएका थिए । उनीहरुले समयमै अख्तियारी नआउने समस्याले पनि तोकिएको समयमा काम गर्न समस्या हुने गरेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close