झलनाथ र रामबरणलाई फेरि लाखौंको आर्थिक सहयोग दिने देउवाको निर्णय

काठमाडौं । यसअघि औषधि उपचार र सर्प पाल्ने नाममा राज्यकोषबाट पटक पटक मोटो रकम लिइसकेका पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनाललाई सरकारले पुनः २० लाख रुपियाँ दिने निर्णय गरेको छ ।

सरकारले उनीअरु सत्तानिकट थुप्रैलाई दशैंको मुखमा राज्यकोषबाट ५० हजार रुपियाँदेखि लाखौं रुपियाँ आर्थिक सहयोग गरेको हो । आफैंले बनाएको कार्यविधि र मापदण्ड भत्काउँदै सरकारले झलनाथ खनालसहित पहुँचवालालाई आर्थिक सहयोग गर्ने विवादास्पद निर्णय गरेको हो ।

आर्थिक सहयोगमा बेथिति भएको भन्दै चर्को आलोचना भएपछि सरकारले गत जेठमा नयाँ मापदण्ड जारी गरेको थियो । त्यही मापदण्डविपरित सत्ताधारी दल निकट र पहुँचवालालाई ५० हजारदेखि पाँच लाख रुपियाँसम्म र खनाल तथा पूर्वराष्ट्रपति रामबरण यादवलाई विशेष निर्णय गरेर २० लाख र १० लाख रुपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएको हो ।

यसअघि विदेश र स्वदेशमा उपचार गर्ने क्रममा खनालले एक पटक ८० लाख रुपियाँ र त्यसअघि पनि लाखौं रुपियाँ राज्यकोषबाट हात पारिसकेका छन् । मन्त्रीसरहको सुविधासहित घर, गाडी र दर्जनौ शीर्षकमा सुविधा लिँदै आएका यादवलाई अनावश्यक ढंगले १० लाख रुपियाँ सहयोग दिने निर्णय भएको हो । खनालले पनि पूर्वप्रधानमन्त्रीको हैसियतमा अनेको सुविधाहरु लिँदालिँदै पटक पटक रकम दिने काम भएको हो ।

केही दिनअघि सत्ता गठवन्धनलाई गुन लगाएवापत न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीशसरहको सुविधा दिने निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । यसरी फजुल ढंगले आर्थिक सहयोग वितरण गर्न र सुविधा दिने कुरामा अरुभन्दा देउवा उदार देखिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close