दलितसँग बिहे गरेकी छोरीलाई सँगै बसेर बुबाको अन्तिम संस्कार गर्न रोक

दलितसँग विवाह गरेको भन्दै इलामको माई नगरपालिका–२ दानाबारीकी यामकला आचार्य विकले बुबाको अन्तिम संस्कार पनि परिवारसँगै गर्न पाइनन् । सोमबार राति निधन भएका बुबा चन्द्रप्रसादको किरिया परिवारसँगै बस्न माइती पक्षले नदिएपछि उनी छुट्टै बसेकी छिन् ।

यामकलाले १२ वर्षअघि दलित समुदायका रत्नबहादुर विश्वकर्मासँग प्रेमविवाह गरेकी थिइन् । उनलाई अहिलेसम्म माइतीले बोलाएको छैन । बुबाको दाहासंस्कारका लागि जाँदा पनि उनले अपमानित हुनुपर्‍यो ।

‘मैले बुबाको अंश मागेको होइन । जसरी हुन्छ गरिखान्छु । १२ वर्ष बोलाउनुभएन, तर अन्तिम संस्कार सबैसँग गर्न दिँदा के हुन्थ्यो ? दलितसँग बिहे गरेर मैले के बिगारेँ र !’ यामकलाले भनिन्, ‘बुबाको मुख पनि हेर्न दिइएन, अन्तिम संस्कार गर्ने त मेरो पनि अधिकार छ नि !’

यामकलाको घरबाट माइतीघर करिब तीन सय मिटर दूरीमा छ । बुबाको निधन भएको थाहा पाउनेबित्तिकै उनी रुँदै माइती पुगिन् ।

१२ वर्षपछि माइतीको आँगन टेकेकी उनलाई गाउँले र बहिनीले झम्टिए । ‘म पुग्नेबित्तिकै गाउँकी लक्ष्मी दंगालले तँलाई बाँचुन्जेल चाहिएन, अहिले के हेर्न आइस् ? आँगन नटेक् भन्दै झपारिन्,’ यामकलाले भनिन्, ‘ठूलोबुबाको छोरी पारू त कुटुँलाझैँ गरेर पाखुरा सुर्केर आई । अरू वेला त दलितसँग गएको भनेर बाटो हिँड्दा थुक्थे पनि ।’

यामकलाले घरमा मात्र होइन बुबाको अन्तिम संस्कारमा घाटमा समेत दलितसँग बिहे गरेकै कारण विभेद भोग्नुपर्‍यो ।

घरमा पुग्दा झपारिएकी उनी बुबाको मुख हेर्न र अन्तिम संस्कारमा सहभागी बन्न माईघाट पुगिन्, तर त्यहाँ पनि विभेद भयो । ‘छेउमा जाने वातावरण नै थिएन ।

सबै आफन्त बुबाको छेउमा थिए । म पर अलग्गै बसेँ । बुबालाई दागबत्ती दिइन्जेल मलाई थाहा छ, त्यसपछि अचेत भएँ । मलाई किरिया माइतमा बस्न नदिने कुरा भएछ, त्यसैले घरमै जुठो बारिरहेकी छु,’ उनले भनिन् ।

मृत्युको अन्तिम संस्कारका वेला श्रद्धाञ्जलीसभा गरिएको थियो । त्यसक्रममा परिवारका सबै सदस्यको नाम लिइए पनि छोरी र ज्वाइँको नाम नलिइएको यामकलाको गुनासो छ । नयाँ पत्रिका दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close