वेटरदेखि साेल्टीसम्म

गरे के हुन्न : रवि पुरी

सुर्खेत जिल्लामा जन्मिएका रवि पुरी होटल व्यवसायीका लागि अद्भुत क्षमताका कर्मचारी मानिन्छन् । सुर्खेतमा रहेको लेकाली होटलमा ११ बर्षको उमेरबाट वेटरका रुपमा काम गरेका पुरी हाल सोल्टी होटलमा सर्भिस प्रोभाइडरका रुपमा काम गरेका छन् । जुनसुकै कामलाइ पनि उच्च सम्मान गर्ने पुरी आर्थिक अवस्था कमजोर हुदाँ पढ्ने उमेरमा होटेल क्षेत्रमा रोजगारीका लागि काममा लागेका थिए । निरन्तरता र मेहनतले पाँच सय बाट शूरु गरेको होटल क्षेत्रको कामबाट अहिले मासिक ४० हजारसम्म कमाउछन् । इमान्दारिता र लगनशिलताले गरे सम्भव छ भन्ने गतिलो उदाहरण पुरीको संघर्षको कथाले दिएको छ । प्रस्तुत छ गुराँस खबर डटकमका लागि उनीसँग गरेको कुराकानीको सारांश ।
११ बर्षमा वेयटर
सानो मै वुवा आमा गुमाए । अभिभावक वितेसँगै पढ्ने रहर पनि टुट्यो । २०५८ सालमा कामको लागि घरबाट निस्किए । ११ बर्षको उमेरमै पैसा कमाउन जानुपर्ने वाध्यता थियो । सानो मान्छेले ठुलो काम पाउने त कुनै संभावना नै थिएन । तर मेरो लागि पैसा पाउने काम पाउनुु नै ठुलो थियो ।
काम पाए, बांगेसिमलदेखि मंगलगढिसम्म चल्ने टेम्पोमा । बजार जाने र बांगेसिमल फर्कने मान्छे खोज्ने र पैसा उठाउने काम शूरु गरे । काम शूरु गरेकै दिन मेरो पुसाजु(देवराज गिरी)ले टेम्पोमा कराउदै गरेको देख्नु भयो । त्यसै दिन टेम्पोबाट उहाँले होटलमा मलाई काममा लगाउनु भयो । मेरो जीवनको कठिन यात्रा एक दिनबाटै होटल लाइनमा परिवर्तन भयो । वेटरका रुपमा काम गर्न थाले । महिना पुगेपछि ५ सय पाए ।मेरो पुसाजुले मंगलगढि चोकमा रहेको लेकाली होटलमा काम गर्नूहुन्थ्यो । भाडाँ माझ्नु पर्दैन भन्दै उहाँले मलाई त्यही काममा लगाउनु भएको हो । शुरुमा काम सिक्नै समय लाग्यो । पढ्ने उमेरमा म होटलमा वेटरको काम गर्थे । करिव ५ बर्ष काम गरेर म अन्य होटलहरुमा पनि काम गर्न गए ।

घर जस्तै बन्यो होटल

पढ्ने खर्च नहुँदा होटलमा काम शूरु गरेको थिए । काम गर्न थालेको केहि बर्षमा पढ्ने रहर जाग्यो । तर अनेक वाध्यताले पढ्न सकिन । होटलका संरक्षक सुरजप्रसाद आचार्यले जीवनमा प्रेरणा दिनु भयो । कामका लागि पटक पटक होटल छोडेर अन्यत्र पनि काम गरे । फेरी कामका लागि लेकाली होेटलमै जान्थ्ये । होटल मेरो लागि घर जस्तो बन्यो, पैसा कमाउन बाहिर जाने अनि घर आउने जस्तै । अन्यत्र गएर काम गरेर फेरी त्यही फर्कदा थप जिम्मेवारी पाउथे । अरु होटलमा काम गर्दा पैसा त हुन्थ्यो तर लेकाली होटलमा जस्तो माया पाउदैनथें । त्यही माया सम्झर फर्की फर्की काम गर्न लेकालीमै फर्के । बालापनमा पाएको मायाले मलाई लेकाली होटल घर जस्तै लाग्थ्यो ।
होटलमा डिग्री
लेकाली होटलका संरक्षक सुरज आचार्यले मलाई पढ्नका लागि धेरै उत्प्रेरणा दिनु भयो । तर मैले सकिन । एक दिन उहाँले भनेको कुरा भर्खर जस्तै लाग्छ, ‘रवि तिमीले होटल क्षेत्रमा डिग्री गर्ने हो ।’
अहिले एकेडेमिक डिग्री गर्न नसकेपनि होटल म्यानेजमेण्टमा डिग्री पढ्दै गरेकालाई तालिम दिन्छु । एच. एम. र वि. एम.पढदै गरेकालाई आजसम्मको अनुभव शेयर गर्छु । नेपाल तथा भारतका ठुला होटलमा काम गर्दा सिकेका अनुभव र तालिमले मलाई आफ्नो क्षेत्रमा डिग्री गरे झै लाग्छ । मेरो लागि होटल क्षेत्र खुल्ला विद्यालय बन्यो र धेरै सिक्ने एवम सिकाउने अवसर दियो ।

सेलिव्रेटीदेखि राष्ट्रिपतिसम्मलाई सर्भिस
सेवाग्राहीलाई खुसी बनाउन सक्नु होटल क्षेत्रमा ठुलो सफलता मानिन्छ । सामान्य मान्छेलाई होटल चलाउनु सामान्य नै लाग्छ । तर होटल व्यवस्थापन अव्यवस्थित भएमा असफलता टाढा हुदैन । व्यवस्थापन भनेको सर्भिस राम्रो गर्नु हो । सर्भिसमा ‘शिष्टाचार र बोलीभाषा’ महत्वपूर्ण मानिन्छ । विभिन्न ठाउँमा काम गर्दाको अनुभवले नेपाली तथा भारतीय सेलेव्रेटि देखि राष्ट्रप्रमुखलाई समेत सर्भिस दिन पाएको छु ।
भारतमा काम गर्दा सलमान खान लगायत चर्चित सुपरस्टारलाई सर्भिस दिने जिम्मा मेरै हुन्थ्यो । नेपालका सवै जसो कलाकारलाई सर्भिस दिएको छु ।
विभिन्न होटलमा काम गर्दै जादा नेपालकै पाँचतारे सोल्टी होटलमा काम गर्न पुगे । अहिले विगत डेढ बर्षदेखि सोल्टी होटलमा सुपरभाइजरमा काम गरिरहेको छु । काम गर्दै जादा राष्ट्रपति विद्यादेवी भण्डारी एवम तत्कालिन प्रद्यानमन्त्री वावुराम भट्टराइलाई सर्भिस दिन पाएको छु ।

हस्पिटालिटीमा करिअर
सानैदेखि हस्पिटालिटीमा काम गर्ने वाध्यता बन्यो । त्यसैमा मैले भविष्य खोजे । मेहनत र लगनशिल भएर काम गरे सफलता पाइदो रहेछ । २० बर्षको अनुभवले मेरो करिअर हस्पिटालिटीमा बनायो । हजुरवुवा सुरज प्रसाद आचार्य, विकास सिवाल, प्रतिक पाण्डे, समिर सेफ जस्ता व्यक्तित्व मेरो करिअरको अर्को पाटो बन्नु भयो । उहाँहरुकै प्रेरणा र सहयोगले यहाँसम्म आइपुगेको छु ।

उहाँहरुको संगतले धेरै सिक्ने पाए । होटल व्यवसायमा युवाको आकर्षण बढ्दो छ र अवसर पनि छ । भविष्यमा आफ्नै ठाउँमा व्यवसाय गर्ने लक्ष्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close