उत्साह, उमंग र उल्लासका साथ कांग्रेसलाई मतदान गर्न उपसभापति खड्काको आग्रह

सुर्खेत, बैशाख २७ ।
नेपाली कांग्रेसका उपसभापति एवम् स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा उत्साह, उमंग र उल्लासका साथ सहभागी हुन मतदातामा अनुरोध गरेका छन् ।
‘नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ,’ मंगलबार अपिल जारी गर्दै उपसभापति खड्काले भनेका छन्, ‘बैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा सहभागी भएर नेपाली कांग्रेसका उम्मेदवारहरूलाई रुख चिन्हमा मतदान गरी अत्याधिक मतले विजयी गराउनु हुन मतदातामा हार्दिक अपील गर्दछु ।’
उपसभापति खड्काले तीन तहका सरकार मध्ये संघीय शासन प्रणालीको आधारस्तम्भ स्थानीय तह रहेको बताउँदै सुख दुःखमा साथ दिने जनप्रतिनिधि छान्न मतदाताहरुलाई आग्रह गरे । ‘जनताको सुख–दुःखमा साथ दिने भएकाले यो जनताको चुल्होको सरकार हो,’ उपसभापति खड्काले भने, ‘संविधान र लोकतन्त्रको रक्षा गर्न, प्रतिगमन परास्त गर्दै शान्ति प्रक्रियाका बाँकी रहेका कामहरु पूरा गर्न र सबै दलहरुको साथ लिएर संविधान संशोधनमार्फत सबै समुदाय, क्षेत्र, वर्ग र लिंगका थप अधिकारहरुलाई संविधानमा समेट्ने ऐतिहासिक जिम्मेवारी र दायित्व पूरा गर्नका लागि कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउनुहोस् ।’
उपसभापति खड्काले स्थानीय तहको निर्वाचन सम्पन्न गराएर कांग्रेसले फेरि एक पटक संविधानको कार्यान्वयनमा ईटा थप्ने काम गरेको पनि बताए । उनले रुख चिन्ह बोकेर घर–आँगनमा आएका उम्मेदवारहरुलाई स्नेह, आशीर्वाद र अमूल्य मत दिन पनि अपील गरे । ‘देशको उन्नति, प्रगति, राष्ट्रियताको रक्षा, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउने अठोटका साथ विकास र समृद्धिका योजना बोकेर नेपाली कांग्रेसका उम्मेदवारहरु तपाइहरुको घर–दैलोमा आउनु भएको छ,’ उपसभापति खड्काले अपीलमा भनेका छन्, ‘कांग्रेसका उम्मेदवारहरुलाई तपाइहरुको स्नेह, आशीर्वाद र अमूल्य मतको खाँचो छ ।’
उपसभापति खड्काले संघीय लोकतान्त्रिक गणतन्त्रलाई जरैदेखि संस्थागत र सुदृढ गर्न निर्वाचनमा सहभागी भएर निर्भिकताका साथ कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न पनि अपील गरेका छन् । ‘अत्यन्त कठीन साधना र समर्पणको फलस्वरुप प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जरैदेखि संस्थागत र सुदृढ गर्न स्थानीय तह निर्वाचनको यो महान अभियानमा निर्भिकताका साथ सहभागी हुन अनुरोध गर्दछु,’ अपीलमा भनिएको छ, ‘नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न समस्त मतदाता आमाबुवा, दिदीबहिनी, दाजुभाइहरुमा विनम्रतापूर्वक हार्दिक अपील गर्दछु ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close