विपद् जोखिम न्यूनीकरणमा मिडिया एड्भोकेसी: पत्रकार वलीले उजागर गरे सुर्खेतका १० जोखिमपूर्ण तस्बिर

वीरेन्द्रनगर नगरपालिका–११ स्थित झुप्रा खोला किनारको बस्ती वर्षायाममा बाढीको उच्च जोखिममा रहेको औँल्याइएको छ । मुगोल मिडियाद्वारा वीरेन्द्रनगरमा आयोजित ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी मिडिया एड्भोकेसी’ कार्यक्रममा सहभागी वक्ताहरूले अनियन्त्रित बालुवा उत्खननका कारण सो बस्ती संकटमा परेको बताएका हुन् । कार्यक्रममा पत्रकार मानबहादुर वलीले ‘फोटो स्टोरी’ मार्फत बस्तीको वर्तमान वस्तुस्थिति प्रस्तुत गर्दै झुप्रा खोलामा २०७७ सालदेखि मेसिनमार्फत भइरहेको बालुवा/गिट्टी उत्खननले भेरी किनार नजिकको बस्तीलाई बाढीको प्रत्यक्ष जोखिममा पारेको जानकारी दिए ।

पत्रकार वलीको प्रस्तुतीकरण अनुसार सो बस्तीमा हाल करिब १८३ घरपरिवार रहेका छन् । तर, वीरेन्द्रनगर नगरपालिकासँग उक्त बस्तीको एकिन घरपरिवार र जनसंख्याबारे कुनै आधिकारिक तथ्याङ्क छैन । स्थानीय सरकारले बस्तीमा बाढीको पूर्वतयारी र सुरक्षाका लागि प्राथमिकता दिन नसकेको तथ्य पनि फोटो स्टोरीमा समेटिएको छ ।

२०७७ सालयता वीरेन्द्रनगर नगरपालिका र लेकवेशी नगरपालिकाले आलोपालो नियमित ठेक्का प्रक्रियामार्फत मेसिन प्रयोग गरी बालुवा उत्खनन गर्दै आएका छन् । यसरी मेसिनको प्रयोगले खोला गहिरिँदै जाँदा वर्षाको समयमा बस्ती नै कटानमा पर्ने खतरा बढेको छ ।

फोटो स्टोरी पश्चात भएको प्यानल डिस्कसनमा बोल्दै वीरेन्द्रनगर नगरपालिकाको विपद् व्यवस्थापन समिति संयोजक खिमलाल देवकोटाले आगामी बजेटमार्फत यो बस्तीलाई व्यवस्थित गर्न ध्यान दिइने बताए। उनले भने, “अधिकांशको दोहोरो घर हुनु र बाहिरबाट अस्थायी रूपमा आयआर्जनका लागि मानिसहरू आउने गरेकाले बस्ती व्यवस्थापनमा केही जटिलता देखिएको हो, तर अब हामी यसलाई प्राथमिकतामा राख्छौँ।”

त्यस्तै, वीरेन्द्रनगर नगरपालिकाका विपद् जोखिम न्यूनीकरण फोकल पर्सन प्रकाश पौडेलले नीतिगत सुधारसहित बस्ती व्यवस्थापनमा नगरपालिकाले ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।

युएनडिपीको ‘सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना’ (सुपर-२) को प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रममा पत्रकार वलीले झुप्रा खोला मात्र नभई वीरेन्द्रनगर नगरपालिकाका विभिन्न १० वटा क्षेत्रका विपद् जोखिम र व्यवस्थापनका पक्षहरूलाई फोटोस्टोरीमार्फत उजागर गरेका थिए।

प्रस्तुतीकरणमा झुप्रा खोलाको जोखिमसँगै निकास खोलाको डुबान, इत्राम खोला किनारको असुरक्षित आवास, रातानाङ्लाको मौसमी राडारको अवस्था, राउटे समुदायको विपद् जोखिम र नगरपालिकाको आपत्कालीन तयारीका पाटाहरू समावेश थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close