‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’

नेपाल ट्रेड युनियन कांग्रेसले नेपालको संविधानमा नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेकाले यो अधिकार खोस्न नहुनेमा जोड दिएको छ ।

युनियनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा संविधानको धारा ३४ (३) ले श्रमिकलाई ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदावाजी गर्न पाउने हकको ग्यारेन्टी गरेकाले ट्रेड युनियन खारेज गर्न नहुने स्पष्ट पारेको हो ।

युनियनका अध्यक्ष योगेन्द्रकुमार कुँवरले शासकीय सुधारका दृष्टिले सरकारले ल्याएका कार्यक्रम राम्रा भए पनि बुँदा नं १२ मा ट्रेड युनियन खारेज गर्ने निर्णय श्रमिकलाई मान्य नहुने बताए ।

‘हामीले दलीय ट्रेड युनियन हुनुपर्छ भनेका छैनौँ, तर ट्रेड युनियन खारेज गर्नुपर्छ भन्ने निर्णयमा हाम्रो आपत्ति हो’, उनले भने, ‘त्यसैले हाम्रो संगठन स्वतन्त्र तथा पेसागत ट्रेड युनियन आन्दोलनको पक्षमा सधैँ दृढ छ ।’

युनियनका महासचिव अजयकुमार राईले सरकारले ट्रेड युनियन खारेजसम्बन्धी गरेको निर्णय नेपालको संविधान र अनुमोदित अन्तरराष्ट्रिय महासन्धिसँग पनि मेल नखाने बताए ।

सरकारको उक्त घोषणाले अन्तर्राष्ट्रिय ट्रेड युनियनले पनि चासो राखेको र नेपालको ट्रेड युनियन आन्दोलनप्रति ऐक्यबद्धता जनाएको पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close