चैत्र २, सुर्खेत ।
वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर ८, सुर्खेतले आफ्नो उन्नाइसौं स्थापना दिवसको अवसरमा बुधबार संस्थाका जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ ।
स्थापना दिवसको अवसर पारेर संस्थाको कार्यक्षेत्र अन्तर्गत पर्ने सुर्खेत उपत्यका भित्र रहेका ७० वर्ष पुरा भएका ४८ जना जेष्ठ सदस्यहरुलाई बुधबार सम्मान गर्नुको साथै सुर्खेत उपत्यका भन्दा बाहिर र जिल्ला बाहिरका शाखाहरुमा आवद्ध जेष्ठ सदस्यहरुलाई स्थापना दिवसकै अवसरमा क्रमशः सम्मान गर्न लागिएको संस्थाका कार्यकारी प्रवन्धक सुरजप्रसाद आचार्यले जानकारी दिनुभयो । वातावरणका सुर्खेत, दैलेख, जाजरकोट र सल्यानमा गरी १३ वटा शाखा कार्यालय तथा ३१ हजारभन्दा बढी सदस्यहरु रहेका छन् ।
स्थापना दिवसको अवसरमा भएको जेष्ठ सदस्य सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा कर्णाली प्रदेश सहकारी रजिष्टार कार्यालयका रजिष्टार खेमराज आचार्यले वातावरणले चुनौतिका साथ राज्यको समेत पहुँच नपुगेको क्षेत्रमा गएर प्रभावकारी किसिमले वित्तीय लगायतका सामाजिक सेवाका क्रियाकलापहरु संचालन गरेको बताउँदै आगामी दिनमा कर्णाली प्रदेशका अझ दुर्गम दुर्गम बस्तीहरुमा पुग्न पनि अनुरोध गर्नुभयो ।
संस्था संचालक समितिका अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक सल्लाहकार कमलराज रेग्मीले वातावरणले लघुवित्त कार्यक्रमको माध्यमबाट विपन्न वर्गका महिलाहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थालाई सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै आगामी दिनमा उनीहरुलाई उद्यमी बनाएर मुलुकबाट गरिबी न्यूनिकरण गर्ने खालका क्रियाकलापहरु संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।