ज‍ुम्लामा दैनिक ९ घन्टासम्म हुने लोडसेडिङ तालिका सार्वजनिक

नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङ तालिका सार्वजनिक गरेको छ। विद्युत वितरण गरिएको विभिन्न स्थानहरूमा हुने लोडसेडिङको तालिका आइतबार सार्वजनिक गरिएको हो।

तालिकाअनुसार दैनिक ९ घन्टासम्म विद्युत आपूर्ति बन्द हुनेछ। टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गौरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि साढे १ बजेसम्म र राति साढे ८ बजेदेखि १२ बजेसम्म लोडसेडिङ हुने छ।

यस्तै ठूलो विजयनगर, सानो विजयनगर, बोहोरागाउँ र बसपार्क क्षेत्रमा दिउँसो साढे १२ बजेदेखि राति साढे ९ बजेसम्म (९ घन्टा) लोडसेडिङ हुने छ।

विद्युतको माग धेरै र आपूर्ति कम भएकाले लामो समय लोडसेडिङ गर्नु परेको नेपाल विद्यतु प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ।

वितरण केन्द्रका प्रमुख गौरव पाण्डेका अनुसार चन्दननाथ नगरपालिकाभित्र मात्र विद्युतको माग ८०० किलोवाट देखि १ मेगावाटसम्म छ। जुम्लामा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छैन।  साना जलविद्युत आयोजना जुम्लाबाट बिजुली वितरण गरिन्छ।

जुम्लाका स्थानीय आयोजनाहरूबाट अहिले २२० किलोवाट बिजुली उत्पादन हुन्छ।

‘हामीले विद्युत वितरण गरिरहेको क्षेत्र चन्दननाथ नगरपालिकाभित्र मात्र कम्तिमा ८०० किलोवाट विद्युतको माग छ,’ पाण्डेले भने, ‘अहिले यहाँको उत्पादन क्षमता भनेको २२० किलोवाट हो, त्यो बिजुली पनि आवश्यकताअनुसार पानी र त्यसको बहाव पुगेपछि मात्र हो।’

पानीको बहाब कम भएकाले विद्युत उत्पादन कम हुने र खपत धेरै हुने हुँदा बेलाबेलामा पावर हाउस नै बन्द गर्नु पर्ने अवस्था आएको उनले बताए।

पाण्डेका अनुसार हरेक दिन बिहान २ देखि ५ बजेसम्म, ८ देखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म पावर हाउस बन्द गर्नुपर्छ। अहिले हिउँ नपरेकाले पनि पानीको बहाव कम भएको उनले बताए।

यसअघि स्थानीय उपभोक्ता समितिमार्फत् वितरण गरिँदैको आएको विद्युत वितरण प्रणाली २०७७ जेठदेखि प्राधिकरणको स्वामित्वमा आएको हो।

चन्दननाथ नगरपालिका -५ का वडा अध्यक्ष अर्जुनसिंह कठायतले जुम्लामा पहिलाका वर्षहरू पनि लोडसेडिङ हुने बताए।

‘पहिले पनि बारम्बार विद्युत अवरूद्ध हुन्थ्यो। बर्खाकाे समयबाहेक कम्तिमा ८ घन्टा लाोडसेडिङ हुन्थ्यो,’ उनले भने,‘पावर हाउसमुनि खेत भएकाले रोपाइँका बेला १५ देखि २० दिनसम्म लोडसेडिङ हुन्थ्यो।’

प्राधिकरणले स्वामित्व लिइसकेपछि लोडसेडिङ केही कम होला भन्ने आशा भए पनि लोडसेडिङ नहटेको वडाध्यक्ष  कठायतले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close