
सिद्धपाइला स्कुलको १७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम विद्यालय प्रांगणमा भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले नगरपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै, वीरेन्द्रनगरलाई शैक्षिक हवको रूपमा विकास गरिरहेको जानकारी दिइन्। उनले विद्यालयले १७ वर्षको अवधिमा नगरपालिकाको शैक्षिक प्राथमिकतामा सहयोग पुर्याएको उल्लेख गर्दै अभिभावकहरूलाई बालबालिकालाई सिक्न र पढ्न उपयुक्त वातावरण बनाउन आग्रह गरिन्। साथै, समाज परिवर्तनमा शिक्षित वर्गको विशेष भूमिका हुने भन्दै विद्यार्थीहरूलाई अध्ययनमा ध्यान दिन प्रेरणा दिइन्।
विद्यालयका प्रधानाध्यापक नैनसिंह खत्रीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको प्रगति, विद्यार्थीको शैक्षिक उपलब्धि, र आगामी लक्ष्यबारे प्रकाश पारे।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सल्लाहकार लोक प्रसाद ढकालले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउँदै विद्यालय, शिक्षक, अभिभावक, र विद्यार्थीहरूको सहकार्यले मात्र राम्रो शिक्षा सम्भव हुने धारणा राखे।
प्याब्सन केन्द्रीय समितिका प्राज्ञिक समिति सदस्य बालदिप कंडेलले विद्यालयको सफलतामा योगदान पुर्याउने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै भविष्यमा अझ ठूलो प्रगति होस् भन्ने शुभकामना व्यक्त गरे।
कार्यक्रमको अवसरमा विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी, शिक्षक, र कर्मचारीलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो। यस्तै, विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रमहरूले उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरे।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद तिवारीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, शिक्षक, अभिभावक, विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो।




