मुगुमा एक महीनामै देखियो ३४ बालबालिकामा कुपोषण

मुगुमा साउन महिनामा मात्रै ३४ जना बालबालिकामा कुपोषणको समस्या देखिएको छ। यो बिरामी भएर जिल्ला अस्पाताल ल्याइएका बालबालिकाको मात्रै तथ्यांक हो।

जसमध्ये तीनजना बालबालिकालाई अस्पतालमा भर्ना गरेरै उपचार गर्नुपर्यो भने ३१ जनालाई पौष्टिक आहारयुक्त खाना (आरयुटीएफ) दिएर घर पठाएको जिल्ला अस्पतालले जानकारी दिएको छ।

जिल्ला अस्पताल मुगुका सूचना अधिकारी तथा पोषण कार्याक्रमका फोकल पर्सन पर्शुराम नेपालीका अनुसार भर्ना गरिएका तीनजना बालबालिकालाई अस्पतालमा (एट–७५) दूध खुवाएर उपचार गरिएको छ। भर्ना गरिएका तीन जनामध्ये दुई जना उपचारपछि घर फर्किएका छन् भने एक जनाको उपचार भइरहेको छ।

“छोरीलाई लामो समयदेखि बान्ता हुने, पखाला लाग्ने, खाना नखाने, दुब्लाउँदै जाने समस्याले सिकिस्त बनाएपछि अस्पताल ल्याउँदा कुपोषण भएको थाहाँ पाएँ,” सोरु गाउँपालिका–९, कालै गाउँकी हजारमती बिकले भनिन्। हजारमतीकी छोरीको कुपोषणका कारण थला परेकाले पाँच दिनदेखि अस्पतालमा उपचार भइरहेको छ।

उनका अनुसार गाउँमा यस्ता खालका बिरामी बच्चा धेरै छन्। तर उपचारको लागि अस्पताल ल्याउन टाढा भएको उनको गुनासो छ।

कुपोषणका सामान्यदेखि कडा खालका बिरामी बालबालिकाका लागि जिल्ला अस्पतालले उपचारात्मक खाना, आरयूटीएफ र एट–७५ दूध मात्र दिँदै आएको छ।

जन्मान्तरको समस्याले बढ्दो कुपोषण
स्वस्थ बच्चाको लागि कम्तीमा २ बर्षको फरकमा मात्रै सन्तान जन्माउनु पर्ने स्वास्थ्य प्रोटोकलमा उल्लेख छ। तर पछिल्लो समय मुगुमा भने समय नपुगेरै बच्चा जन्माउने समस्या धेरै भएको र जन्मान्तरमा ध्यान नदिँदा कुपोषण बढिरहेको सूचना अधिकारी नेपालीको भनाइ छ।
बालबालिकाको खानपानमा बेवास्ता, पुरक आहारको समस्या, अपरिपक्व अवस्थामा बच्चा जन्माउनु लगायत कारणले पनि कुपोषणको समस्या बढ्दै गएको उनले बताए।

परिवार नियोजनका साधन प्रयोग नगर्नु, बालबिवाह गर्नु, गरिबी, बेरोजगारी र कम उम्मेरमै बच्चा जन्माउनु कुपोषणका मुख्य कारण भएको स्वास्थ्यकर्मी बताउँछन्।

कोभिड-१९ महामारीका कारण गरिएको बन्दाबन्दी र त्यसले गुजाराकै समस्या निम्त्याउँदा पनि बालबालिकामा कुपोषण बढेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close