
सुर्खेत । पाण्डे एकता समाज सुर्खेतको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । वीरेन्द्रनगरमा शनिबार सम्पन्न साधारणसभा मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति कालीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
साधारणसभामा देशका विभिन्न क्षेत्रमा छरिएर रहेका पाण्डे थरका व्यक्तिहरूबीच आपसी एकता, भाइबन्धुत्व र सामाजिक सहकार्यलाई थप सुदृढ बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिइएको छ । प्रमुख अतिथि पाण्डेले पाण्डे समुदायको पहिचान, सामाजिक योगदान र भावी पुस्ताका लागि साझा उद्देश्य निर्माण गर्न संगठनात्मक एकता अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
एकतावद्ध पाण्डे समाज निर्माण गर्ने, थरबीच एकरूपता कायम गर्ने, वंशको श्रेय अभिवृद्धि गर्न अक्षयकोष स्थापना गरी सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको समाजले दोस्रो वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।
समाजका अध्यक्ष लिलाराम पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले आगामी दिनमा सामाजिक, शैक्षिक तथा सांस्कृतिक गतिविधिलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने योजना पारित गरेको छ । साथै समाजलाई संस्थागत रूपमा मजबुत बनाउँदै सदस्यहरूबीच आपसी सहयोग र सद्भाव बढाउने निर्णय गरिएको छ ।
कार्यक्रममा समाजका कोषाध्यक्ष रामप्रसाद जैसीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने प्रतिवेदनमाथि छलफल गर्दै सुझावहरू संकलन गरिएको थियो । साधारणसभाले आगामी कार्ययोजना कार्यान्वयनमा सबै सदस्यको सक्रिय सहभागिता आवश्यक रहेको निष्कर्ष निकालेको छ ।






