कांग्रेसमा टकराव : सम्झाउन गएको पौडेल पक्षलाई देउवा समूहको चेतावनी

सभापति शेरबहादुर देउवाको कार्यशैली विधानसम्मत नभएको भन्दै लिखित ध्यानाकर्षण गराउन पुगेका नेतालाई देउवा समूहले हप्कीदप्की गरेर पठाएको छ । माग बोकेर गएका रामचन्द्र पौडेल पक्षका नेतालाई देउवा समूहले भन्यो, ‘तपाईंहरू विरोध गर्दै जानुस् । हामी अब रोकिँदैनौं ।’

१४औं महाधिवेशनको कार्यतालिका आइसकेपछि प्रभाव पार्ने हिसाबले विभाग गठन गरेको, क्रियाशील सदस्यमा मनोमानी गरेको, समायोजनमा आफूखुसी गरेको भन्दै यस्ता गतिविधि रोक्न पौडेल पक्षले देउवालाई भेटेरै पाँचबुँदे ज्ञापनपत्र बुझाएको थियो । तर, पौडेल पक्षको मागमा देउवा ‘टसको मस’ भएनन् ।

नेता पौडेलले १४औं महाधिवेशनको संघारमा रहँदै गर्दा सभापतिबाट भएका केही कदमले महाधिवेशनको निष्पक्षतामा प्रश्न उठेको भन्दै लिखित ध्यानाकर्षण पत्र लिएर आएको बताएका थिए ।

पौडेलको साथमा महामन्त्री डा. शशांक कोइराला, डा. मीनेन्द्र रिजाल, जीवन परियार र सरिता प्रसाईं सभापतिको कार्यकक्षमा पुगेका थिए । सभापति देउवाका तर्फबाट देउवा, उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की र एनपी सावद सहभागी थिए ।

सभापतिजी हामी महाधिवेशनको संघारमा छौँ । महाधिवेशनलाई स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित बनाउन हामी हरसहयोग गर्छौँ । तर, महाधिवेशन सम्पन्न गर्नुअघि भएका विभिन्न घटनाक्रममा हाम्रा केही फरक मत छन्’ भन्दै पौडेलले लिखित ध्यानाकर्षण लिएर आएको बताएका थिए । लगत्तै पौडेलले लिखित पत्र केन्द्रीय सदस्य जीवन परियारलाई वाचन गर्न लगाए । सभापतिलाई बुझाइएको पत्रमा नेता पौडेल र महामन्त्री शशांकको हस्ताक्षर छ ।

पाँचबुँदे पत्रमा विधानविपरीत गठन भएका विभाग, क्रियाशील सदस्यतामा गरिएको मनोमानी, पार्टी एकतामा आएकालाई समायोजन गर्दा सदस्यतामा मनलाग्दी, पार्टीका आन्तरिक संरचनाको समायोजन, जनसम्पर्क समितिमा लफडा, भ्रातृ संस्था सक्रिय हुन नसकेकोजस्ता विषय उठाइएको छ । यस्ता गतिविधि तत्काल रोकेर निष्पक्ष महाधिवेशनको बाटोमा अघि बढ्न उनीहरूले पत्रमार्फत सभापतिको ध्यानाकर्षण गराएका हुन् ।

परियारले पूरै चार पेज वाचन गरेपछि देउवा बोल्न थाले । ‘पहिले पनि सुशीलजीले विभाग बनाउँदा सबै कमिटी बनाएर घोषणा गर्नुभएको हो । विभागीय प्रमुखलाई नसोधी बनाउनुभयो । अहिले विभागीय प्रमुखसँग सल्लाह गरी गरेको हुँ, बरु यसमा तपाईंहरूले पनि नाम दिएर सहयोग गर्नुपर्छ,’ देउवाको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘मैले पार्टीका संरचनालाई समयमै पूर्णता दिऊँ भन्दै आएको छु । मैले विधानविपरीत काम गरेको छैन । यस्तोमा तपाईंहरू पनि पार्टी गतिविधिमा सहयोग गर्न तयार हुनुपर्छ ।’

देउवा नरम रूपमै प्रस्तुत भए पनि उपसभापति विमलेन्द्र निधि चर्कै रूपमा प्रस्तुत भए । ‘तपाईंहरू विरोध गर्दै जानुन् । हामी अब रोकिँदैनौं । विभाग पनि गठन हुन्छ, पार्टीका काम पनि हुँदै जान्छन् ।’ निधिले आफूहरू अब यस्ता गतिविधि नरोक्ने पक्षमा रहेको प्रस्टै बताई दिए ।

पौडेल पक्षको मुख्य आपत्ति नै विधानविपरीत गठन गरिएका विभागको विषयमा थियो । किनकि पार्टी संरचनाको गठन महाधिवेशनको दुई महिनामा हुनुपर्ने थियो । संशोधित विधानले ६ महिनाको प्रावधान राख्यो ।

तर, देउवाले महाधिवेशनको कार्यतालिका आइसकेपछि अनुचित लाभ लिने नियतले विभाग गठनको प्रक्रियालाई निरन्तर अघि बढाएको आरोप पौडेल पक्षको छ । विभाग गठनमा आफूनिकटका नेता–कार्यकर्तालाई खुसी पार्ने मात्र होइन, क्रियाशील सदस्यता बाँड्दा समेत आफूनिकटका जिल्ला सभापतिमार्फत मनोमानी गरेको आरोप पौडेल पक्षको छ ।

‘हामीले यसअघि पनि लिखित रूपमा सभापतिको ध्यानाकर्षण गराएका थियौँ । फेरि पनि ध्यानाकर्षण गराउँदा उहाँ पार्टीलाई मिलाएर जान्छु भन्न समेत तयार हुनुभएन,’ केन्द्रीय सदस्य जीवन परियारले भने, ‘सभापति टसको मस नभएपछि बाध्य भएर हामी पार्टीको असन्तुष्टिलाई मिडियासम्म लान बाध्य भएका हौँ ।’

सभापतिले कुनै सकारात्मक जवाफ नदिएपछि पौडेल पक्षले केन्द्रीय कार्यालयमै त्यसपछि पत्रकार सम्मेलन गर्‍यो । पत्रकार सम्मेलनमा नेता पौडेलले सभापतिबाट विधानविपरीतका कार्य भएकाले आफूहरूले लिखित रूपमै ध्यानाकर्षण गराएको बताए ।

‘पार्टीलाई विधि, विधान र पद्धतिमा अघि बढाउनुपर्छ भनेर हामीले निरन्तर भन्दै आयौँ,’ पत्रकार सम्मेलनमा पौडेलले भने, ‘तर, सभापतिले एकपछि अर्को गल्ती गर्दै आउनुभएको छ । सभापति यसरी गल्ती गर्दै जान्छन् भने हामी यो मुद्दा महाधिवेशनसम्मै लैजान्छौँ ।’ आफूहरूले सहमतिमै उम्मेदवार घोषणा गर्ने पौडेलको भनाइ थियो ।

आफूहरूले ध्यानाकर्षण गराएकै दिन एकल निर्णयमा चार सय ७९ सदस्यीय ज्येष्ठ राजनीतिक सभा गठन गरेकोमा पनि पौडेल पक्ष असन्तुष्ट छ । साथै, पार्टीमा योगदान र त्याग गरेका धेरै नेताहरू हुँदाहुँदै राप्रपाबाट सुनील थापालाई सहमहामन्त्री बनाउने गरी पार्टीमा भित्र्याएकोमा पनि पौडेल पक्षको असन्तुष्टि छ । नयाँ पत्रिका दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close