यस्तो छ, सार्क मुलुकहरुमा कोरोना संक्रमणको अवस्था

सन् २०१९ को अन्त्यसँगै फैलिएको कोभिड–१९ ले २०२० को अन्त्यसम्म आइपुग्दा विश्वमा १५ लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको छ ।

डिसेम्बर २ सम्मको तथ्यांकलाई हेर्दा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ लाख ४५४ छ । छ करोड ४९ लाख चार हजार ९७९ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये एक करोड ८४ लाख नौ हजार १२५ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, निको हुनेको संख्या चार करोड ४९ लाख ९५ हजार ४०० रहेको छ । यो कुल संक्रमितको ९७ प्रतिशत हो ।

अहिलेसम्म संक्रमित हुनेमा सबैभन्दा धेरै संयुक्तराज्य अमेरिकाका नागरिक छन् । त्यहाँ एक करोड ४३ लाख १४ हजार २६५ जनामा संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेको संख्या पनि अमेरिकामा उच्च छ । त्यहाँ दुई लाख ७९ हजार ८६७ जनाको मृत्यु भइसकेको छ । अमेरिकापछि सबैभन्दा बढी भारतका नागरिकमा कोरोना देखिएको छ । भारतमा बुधबारसम्म ९५ लाख ३४ हजार ९६४ जनामा संक्रमण पुष्टि भएको छ ।  भारतमा बुधबारसम्म एक लाख ३८ हजार ६५७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यहाँ निको हुनेको प्रतिशत ९३.९ रहेको छ ।

त्यसपछि ब्राजिल, रुस, फ्रान्स, स्पेनमा क्रमशः संक्रमितको संख्या बढी छ ।

सार्क राष्ट्रहरुमध्ये कोरोनाका कारण भारतपछि पाकिस्तानमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । त्यहाँ बुधबारसम्म चार लाख छ हजार ८१० जनामा संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेको संख्या आठ हजार २०५ छ । त्यहाँ निको हुनेको प्रतिशत ८५.७ रहेको छ । बंगलादेशमा चार लाख ६९ हजार ४२३ जनामा संक्रमण पुष्टि भएकोमा छ हजार ७१३ जनाको मृत्यु भएको छ । निको हुनेको प्रतिशत ८१.९ रहेको छ । नेपालमा बिहीबारसम्म कुल दुई लाख ३७ हजार ५८९ जनामा संक्रमण पुष्टि भएको छ । कोरोनाका कारण यहाँ एक हजार ५५१ जनाले ज्यान गुमाएका छन् । निको हुने दर ९२.७१ प्रतिशत छ ।

अफगानिस्तानमा बुधबारसम्म ४७ हजार २५६ जनामा संक्रमण देखिएकोमा एक हजार ८४८ जनाको मृत्यु भएको छ । त्यहाँ कोरोनालाई परास्त गर्नेको प्रतिशत ७९.१ छ । त्यस्तै, श्रीलंकामा संक्रमितको संख्या २५ हजार ४१० छ । १२४ जनाको मृत्यु भएको छ । त्यहाँ निको हुनेको प्रतिशत ७३.९ रहेको छ । माल्दिभ्समा बुधबारसम्म १३ हजार ७० जनामा संक्रमण पुष्टि भएको छ । ४७ जनाको मृत्यु भएको छ । माल्दिभ्समा निको हुने दर ९१.८ प्रतिशत छ । भुटानमा हालसम्म कोरोनाभाइरसको संक्रमणका कारण कसैको मृत्यु पुष्टि भएको छैन । त्यहाँ संक्रमितको संख्या ४१५ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close