होटल तथा रेष्टुँराका ४० प्रतिशत कर्मचारीले गुमाए रोजगारी

कोरोनाका  कारण सबैभन्दा बढी रोजगारी गुमाउने क्षेत्र होटल तथा रेष्टुँरा रहेको छ। कोरोना भाइरस नियन्त्रणका लागि भन्दै चैत ११ गतेदेखि सरकारले लकडाउन जारी गरेपछि देशभरका सबै होटल तथा रेष्टुँरा बन्द भए, जसका कारण यस क्षेत्रमा कार्यरत ४० प्रतिशतभन्दा बढी श्रमिकले रोजगारी गुमाएका छन्।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको सर्वेक्षणमा सबैभन्दा बढी श्रमिकले रोजागरी गुमाएको क्षेत्र होटल तथा रेष्टुँरा रहेको उल्लेख छ। उक्त अध्ययन रिपोर्टमा समग्रमा २२ दशमलब ५० प्रतिशत श्रमिकले रोजगारी गुमाएको उल्लेख छ।

होटलको अवस्था
नेपालको पर्यटन क्षेत्रमा होटल व्यवसायको एक प्रमुख स्थान छ। हालसम्म नेपालमा तारेस्तरका १ सय ३८ र पर्यटकस्तरका १ हजार १५१  गरी जम्मा १ हजार २ सय ८९ होटल रहेका छन्। उक्त होटलहरुमा रहेको बेड संख्या ४४ हजारभन्दा बढी छ।

नेपाल होटल संघबाट प्राप्त तथ्यांकअनुसार नेपालमा यस व्यवसायमा करिब १४ खर्ब ३० अर्ब लगानी रहेकाे छ। होटल व्यवसायमा विभिन्न वाणिज्य बैंकहरुको ऋण लगानी १३ अर्ब ८७ करोड तथा होटलले तिर्ने मासिक ब्याज ५४ करोड ४४ लाख छ।  यस व्यवसायमा कार्यरत मजदूरको मासिक रुपमा तलब सुविधावापत ८५ करोड २२ लाख रुपैयाँ खर्च हुने गरेको तथ्यांक छ। नेपालमा घरबहालमा लिएर सञ्चालन भएका होटलहरूले मासिक रूपमा १९ करोड ५७ लाख घरभाडा तिर्ने गरेका छन्।

नेपालका होटलहरूको सन् २०१९ मा अकुपेन्सी ७५ प्रतिशत (पहिलो ८ महिनामा ७२ प्रतिशत, पछिल्लो ४ महिनामा ८० प्रतिशत) रहेको थियो। यस्तो अकुपेन्सी सन् २०१९ को जनवरीमा ५८ प्रतिशत, फेब्रुअरीमा २० प्रतिशत र मार्चमा ८२ प्रतिशत थियो। सन् २०२० को अवस्था हेर्दा जनवरीमा ५० प्रतिशत, फेब्रुअरीमा २० प्रतिशत र मार्च १५ सम्म २० प्रतिशतमात्र थियो। होटल क्षेत्र अहिले पूर्ण रुपमा बन्द छ।

कुन क्षेत्रका कति मजदूरले गमाएर रोजगारी (प्रतिशतमा)

कृषि, वन तथा मत्स्यपालन–२१.३५
खानी तथा उत्खनन–१६.६७
उत्पादनमूलक उद्योग–२३.४९
विद्युत्, ग्याँस तथा पानी–३९.७१
निर्माण–२३.६७
थोक तथा खुद्रा व्यापार–२४.८६
होटल तथा रेष्टुँरा–४०.०८
यातायात तथा भण्डारण– १८.२९
सञ्चार–२१.३१
रियल स्टेट, भाडा तथा व्यावसायिक क्रियाकलापहरु–१८.७५
शिक्षा–५.६०
स्वास्थ्य तथा सामाजिक कार्यहरु–१५
अन्य क्षेत्रहरु–२४.९०

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close