गुर्भाकोटदेखि चौर पुग्यो गाडी, तरकारी र फलफुल किन्न घरमै पुग्छन् व्यवसायी

सुर्खेत २१ साउन

गुर्भाकोट नगरपालिकादेखि सल्यानको चौर पुग्न दुई घण्टा गाडीको यात्रा गरे पुग्ने भएको छ । कुनै बेला त्यहाँ पुग्न एकदिनको कष्टकर पैदल गर्नुपर्ने बाध्यता थियो ।

सल्यानको कुपिन्डे नगरपालिका –१२ मा पर्ने भए पनि चौरका सर्वसाधारण सामाजिक र आर्थिक कामका लागि गुर्भाकोट आउने गर्छन । बाटो बनेसंगै उनीहरुको दैनिकी सहज बन्दै छ भन् जीवनमा  परिवर्तन आउन थालेको छ ।

चौर तरकारी, फलफुल उत्पादन र कृषिक्षेत्रका लागि चिनिन्छ । स्याउँ, नासपति, आलु, टिम्मुर उत्पादनका लागि प्रख्यात छ । अहिलेसम्म ती उत्पादन बेच्न त्यहाँका सर्वसाधारणले निकै कठिनाई भोग्नुपरेको थियो । विक्रीका लागि एकदिन पैदल हिडेर गुर्भाकोटको बोटेचौरसम्म आउनुपथ्र्यो ।

गुर्भाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख समेत रहेका चौर जन्मिएका किरण ओली भन्छन्–‘पिठ्युमा भारी, पटुकीमा नुन र रोटी बोकेर भालेको डाकोसंगै आफुले उत्पादन गरेका तरकारी, फलफुल बेच्न बोटेचौर आउनुपर्ने बाध्यता थियो । अब बिस्तारै हट्दै छ ।’

ओलीका अनुसार सक्नेले त्यसरी बेच्थे नसक्नेको बारीमै कुहिन्थ्यो । ‘म धेरै समयपछि चौर गएर आए । अहिले पुरै बद्लिएको पाए । नेपालगन्ज र सुर्खेतदेखि व्यापारी तरकारी र फलफुल किन्न चौर पुग्ने रहेछन् । स्थानीय हर्षित छन् ।’– ओलीले भने ।

गुर्भाकोटको बोटेचौर– कोट–हिल–टिमुरे हुँदैसडक बनेपछि पहिलो पटक गाडी चढेर गुर्भाकोटका मेयर सहितको टोली चौर पुग्यो । चौर र गुर्भाकोटबीचको अन्तरसम्बन्धलाई अझ बलियो बनाउनका लागि उक्त सडकमार्ग लाभदायीक हुने मेयर हस्तबहादुर पुनले बताए ।

उनले भने,–‘त्यहाँको कृषि उत्पादनलाई प्रोत्साहित गर्न यो सडकको स्तरोन्नतीका लागि म सक्दो सहयोग गर्छु ।’ उक्त सडकखण्डमा अहिले ठुला गाडी चलाउन मिल्दैन । साना जीपहरु भने चलिरहेका छन् । सडकका केही भाग बिग्रिएकाले त्यसलाई मर्मत गर्न सघाउने मेयर पुनले प्रतिबद्धता जनाएका छन् ।

संघीय सरकारको रु ४२ करोड लागतमा सडक निर्माण भएको हो । सडक बनेसंंगै पहिले गाउँ छाडेकाहरु समेत चौर आउन थालेका छन् । पुख्र्यौली जग्गामा फलफुल र तरकारी लगाउन थालेको स्थानीय बताउँछन् ।

‘पुर्वाधार विकासको अभावमा चौरले भोग्नुपरेको दुःख बयान गरी साध्य छैन । अहिले त्यहाँको विकासको कुरा सुन्दा खुसी लाग्छ ।’– ओली भन्छन्–‘हाल सुरु भएको विकासलाई परिपक्क बनाएर लैजाने हो भने गाउँको आर्थिक कायापलट हुनेमा ढुक्क छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close