किन सलबलाए राजावादी ?

कोभिडका कारण देशभर धर्ना, जुलुस, गोष्ठी एवं सेमिनारमा बन्देज छ। तर, सडकमा प्रदर्शन जारी छ। त्यो पनि संविधानको मूल मर्म र भावना खारेजीको माग गर्दै। ०६२/६३ को क्रान्तिका मुख्य उपलब्धि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि धावा बोल्दै पुरातनवादीहरू चरणबद्ध प्रदर्शन गरिरहेका छन्।

देशका मुख्य सहर धनगढी, जनकपुर, बुटवल, पोखरा, विराटनगरमा फरक–फरक ब्यानरमा प्रदर्शन गरेका छन्। उनीहरूको उद्देश्य भने एउटै देखिन्छ– गणतन्त्र खारेज गरी राजतन्त्र फर्काउने, धर्मनिरपेक्षता हटाएर हिन्दूराष्ट्र कायम गर्ने र संघीयता खारेज गर्ने। संघीय राजधानी काठमाडौंमा पनि प्रदर्शन हुन थालेपछि उपत्यकाका तीनै जिल्ला प्रशासनले आन्दोलनकारीमाथि निगरानी बढाउने निर्णय गरेका छन्।

आखिर गणतन्त्र स्थापनाको १२ वर्षमै राजावादीहरू किन सलबलाए ? ‘गणतन्त्रपछि जति पनि शासक आए, उनीहरूले यो व्यवस्थालाई बलियो बनाउने भन्दा पनि यसलाई विकृत बनाउने काम गरिरहेका छन्’, नागरिक समाजका अगुवा कृष्ण पहाडी भन्छन्, ‘अहिले परम्परागत शक्ति या राजावादी सडकमा देखिएका छन्। यसमा सरकार बढी दोषी छ।’ युवामा असन्तुष्टि बढ्नु, सत्याग्रहीप्रति सरकारको व्यवहार राम्रो नहुनु र राष्ट्रको अभिभावकको भूमिका सन्तुलित नहुनुले पनि राजावादीलाई हौसला मिलेको पहाडीको बुझाइ छ।

संविधानसभा अध्यक्ष एवं नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ परिवर्तनकारी दलभित्रको विवाद र सरकारका राम्रा कामको प्रचार गरी स्वामित्व लिन नसक्दा दक्षिणपन्थीहरू सलबलाएको तर्क गर्छन्। ‘हिजो उनीहरूको व्यवस्थामा आन्दोलन गर्दा राजकाज मुद्दा भोग्नुपथ्र्यो’, नेम्बाङ भन्छन्, ‘आज लोकतन्त्र भएकै कारण सबैले शान्तिपूर्ण विरोध र जुलुस प्रदर्शन गर्न पाउँछन्।’ परिवर्तनकारी शक्ति एक ठाउँ उभिएर पुरातनवादीलाई सन्देश दिन जरुरी भएको उनको भनाइ छ।

कांग्रेस नेता डा. शेखर कोइराला क्रान्तिपछि प्रतिक्रान्तिका छिटा देखिनु स्वाभाविक भए पनि सरकारको कार्यक्षमता कमजोर भएका कारण राजावादीलाई ‘हौसला’ मिलेको बताउँछन्। ‘सरकारले जनअपेक्षाअनुसार काम नगरेपछि आमनागरिकमा निराशा त हुन्छ नै !’ नेता कोइराला भन्छन्, ‘अहिलेको भन्दा पुरानै व्यवस्था ठीक रहेछ भन्ने जनतामा धारणा उत्पन्न हुन्छ। त्यसका लागि राजनीतिक दल र सरकार बढी जिम्मेवार बन्नुपर्छ।’ संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशीतालाई संस्थागत गर्दै जानुको विकल्प नरहेको कोइरालाको भनाइ छ।

त्रिविको राजनीतिशास्त्र केन्द्रीय विभागका प्रा.डा. रामकृष्ण तिवारी मूलधारका राजनीतिक दल कमजोर भएका बेला अन्यले आफ्नो स्थान खोज्नु नौलो नभएको बताउँछन्। सडकमा अहिले देखिएको असन्तुष्टिलाई नजरअन्दाज  गर्न नहुने उल्लेख गर्दै तिवारी भन्छन्, ‘नागरिक तहमा असन्तुष्टि बढ्दै जाँदा प्रतिक्रियावादी शक्तिले आफ्नो शक्तिका रूपमा दुरुपयोग गर्न सक्छन्। यसतर्फ सबै परिवर्तनकारी शक्ति एक ठाउँमा उभिँदै नागरिकमा देखिएको असन्तुष्टि हटाउने काममा क्रियाशील हुनु जरुरी छ।’

जनता समाजवादीका नेता एवं संविधानविद् लक्ष्मणलाल कर्ण सरकारको कार्यशैली र परिवर्तनकारी पार्टीभित्रको संघर्षका कारण राजावादी सलबलाएको तर्क गर्छन्। ‘यो संविधानका कतिपय विषयप्रति हाम्रा असहमति छन्’, नेता कर्ण भन्छन्, ‘तर, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी महŒवपूर्ण उपलब्धि हुन्। यिनीहरूको रक्षा र संवद्र्धनका लागि सत्तासीन र अरू पार्टी एक ठाउँ उभिनुपर्छ।’ राजवादी सलबलाएका बेला सत्तासीन र अरू पार्टीको बैठक बसी संविधानका उपलब्धिको रक्षार्थ एक ठाउँ रहेको सन्देश दिन जरुरी रहेको कर्णको भनाइ छ।

राप्रपा नेता डा. धवलशम्शेर राणा राजावादी आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको स्विकार्छन्। ‘अहिलेको व्यवस्थाप्रतिको आक्रोश हो यो’, नेता राणा भन्छन्, ‘अहिले भइरहेको आन्दोलन, विरोध स्वतस्फूर्त हो। यसमा राप्रपाको समर्थन, सहयोग छ।’ तत्कालै अहिलेको व्यवस्था नफेरिए पनि जनतामा असन्तुष्टि बढ्दै जाँदा भोलिका दिनमा के हुन्छ भन्न नसकिने राणाको तर्क छ। राप्रपाकै राजाराम बर्ताैला आफ्नो पार्टीले आन्दोलनको नेतृत्व गर्ने बताउँछन्।

पूर्वसभामुख दमननाथ ढुंगाना ०६२÷६३ को आन्दोलनको परिवर्तनमाथि प्रश्न उठेको बताउँछन्। ‘परिवर्तनमाथि प्रश्न उठाउँदैमा पूरा हुन्छन् भन्ने हुँदैन’, ढुंगाना भन्छन, ‘तर, परिवर्तनका पक्षधरले यसलाई कसरी लिन्छन् भन्ने हो।’ राजनीतिक अस्थिरता हुने गरे पनि नेपालमा पटक–पटक प्रणालीगत अस्थिरता देखा पर्नु भने गम्भीर विषय भएको उनको ठम्याइ छ।

परिवर्तनकारी शक्तिमध्ये झन्डै दुई तिहाइ जनमत प्राप्त गरी नेकपा सत्तासीन छ। उही पार्टी आन्तरिक किचलोमा फस्नु, विपक्षी कांग्रेस पनि घरझगडामै रुमल्लिनु र संघदेखि स्थानीय तहसम्मका जनप्रतिनिधिले अपेक्षाकृत रूपमा काम गर्न नसक्दा दक्षिणपन्थीहरू सल्बलाएका देखिन्छन्। ‘जनतामा नगई राजनीति आफ्नो हातमा पार्ने यो नै उपयुक्त अवसर हो भन्ने राजावादीलाई लागेको देखिन्छ’, नेता कर्ण भन्छन्।

काठमाडौंमा जेठमै राजनीतिक व्यवस्थाविरुद्ध तथा हिन्दू राष्ट्रको माग गर्दै प्रदर्शन भएको थियो। नेकपामा एमसीसी परियोजनाबारे तीव्र मतभेद देखिएका बेला असारमा दरबारमार्ग र चाबहिल क्षेत्रमा राजावादीले प्रदर्शन गरेका थिए। ‘सत्तापक्षकै साथीहरू सरकारविरुद्ध भ्रम छर्न थालेपछि अरूहरू हौसिएर विरोधमा लागेका हुन सक्छन्’, नेम्बाङ भन्छन्।

सरकारले गत वर्ष गुठी विधेयक जारी गरेपछि राजधानीमा प्र्रदर्शन भयो। उक्त प्रदर्शनमा राजावादीको घुसपैठ भएकाले रक्तपातपूर्ण हुन सक्ने सूचना पाएपछि सरकारले ०७६ असार ४ गते विधेयक फिर्ता लियो। तितरवितर भएका दक्षिणपन्थीहरू सोही आन्दोलनपछि संगठित रूपमा प्रदर्शनमा उत्रन थालेको नेकपाकै नेताहरू बताउँछन्।

त्यसयता देशका विभिन्न भागमा व्यवस्था उल्टाउने भन्दै जुलुस, नारावाजी, मोटरसाइकल र्‍यालीजस्ता कार्यक्रम भएका छन्। सुरक्षा निकायका अनुसार केही दिनयता देशका कुनै न कुनै स्थानमा साना–ठूला कार्यक्रम, प्रदर्शन भइरहेका छन्। विराटनगर, धनगढीका प्रदर्शनमा संविधानसभाबाट बनेको संविधान खारेज गरी ०४७ को संविधान लागू गर्नुपर्ने ब्यानर प्रदर्शन र नाराबाजी गरिएको थियो।

मुख्य परिवर्तनकारी दलभित्रै पनि धर्मका विषयमा विवाद देखा पर्ने गरेका छन्। कांग्रेसको गत वर्ष बसेको महासमिति बैठकमा हिन्दू राष्ट्रका पक्षमा नेताहरूले हस्ताक्षर नै संकलन गरेका थिए। कांग्रेसकै कतिपय नेताले धर्मनिरपेक्षता हटाएर हिन्दू राष्ट्र बनाउनुपर्ने धारणा व्यक्त गर्ने गरेका छन्। कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, जसले संविधान बनाए उनीहरू नै परिवर्तन हुनुपर्ने पक्षमा लागेपछि राजावादीहरू हौसिनु त स्वाभाविकै हो।’

संसद्मा एक सिट रहेको रापप्राले परिवर्तनमाथि संसद्मै प्रश्न उठाइरहेको छ। राप्रपा सांसद राजेन्द्र लिङदेनको अगुवाइमा झापामा मंसिर २० गते ¥यालीको तयारी गरिएको छ। डडेल्धुरामा गणतन्त्र धोखा हो भन्दै मंसिर १७ गते ब्यानरसहित प्रदर्शन भएको छ। सरकार सुशासन कायम गराउन सफल हुने हो भने अहिलेको सडक आन्दोलन स्वतः मत्थर हुँदै जाने पहाडी बताउँछन्। ‘नागरिकमा देखिएको असन्तुष्टिलाई व्यवस्थाविरोधी आन्दोलनका रूपमा परिणत हुन नदिन अहिलेका नेता सुध्रिनुपर्छ’, उनी भन्छन्।

कहिले कहाँ प्रदर्शन ?
कात्तिक २५ काठमाडौं
कात्तिक २७ विराटनगर
मसिर ४ धनगढी
मंसिर १० जनकपुर र पोखरा
डडेल्धुरा मंसिर १७ गते

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close