अन्तर्राकिम्फको १७ औं संस्करणमा २९ देशका ६६ फिल्म प्रदर्शन हुने

काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव(किम्फ)को १७ औं संस्करणमा २९ देशका ६६ फिल्म प्रदर्शन हुने भएको छ। पर्वतीय विषयवस्तुमा आधारित फिल्म महोत्सव आगामी मंसिर २५ देखि २९ सम्म राजधानीको सभागृह र नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुनेछ। नेपाली पानारोमाअन्तर्गत यस पटक १४ वटा फिल्म समावेश छन्।

नेपाली पानारोमाअन्तर्गत सरला थापाको ‘ब्रिटेन्स लोन्ली गोर्खाज, गणेश पाण्डेको ‘सह श्रीमान’, निपिल शर्माको ‘अटिसार्गा’, धोंडप छिरिङको ‘आमा खुन्डो’, सुमन सापकोटाको ‘अठारौं’, धनराज बर्कोटेको ‘एउटा रुखको पीडा’, केदार श्रेष्ठको ‘जुनुको जुत्ता’, प्रसिस बज्राचार्यको ‘कोक्रो’, ‘पहिचान’, ‘फुर्वा’, ‘साइलेन्स प्लिज’, ‘रंगहीन पुतली’, ‘द कलरलेस’ र ‘तिर्खा’ लगायत फिल्म समावेश छन्।

महोत्सवमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक र ३२ फिल्म गैरप्रतिस्पर्धात्मक खण्डमा समावेश छन्। महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ५० हजार र एक लाख रुपैयाँ जित्नेछन्।

‘नेपाल पानोरामा’अन्तर्गत उत्कृष्ट हुने कथानक (फिक्सन) र गैर–कथानक (ननफिक्सन) फिल्मलाई क्रमशः एक लाख र ७५ हजार रुपैयाँ प्रदान गरिनेछ। कथानक विधातर्फको पुरस्कार मिला प्रोडक्सनले र गैर–कथानकविधातर्फको पुरस्कार राशी चलचित्र विकास बोर्डले प्रायोजन गर्नेछ।
यसपटक किम्फले आयोजना गरेको ‘परिवर्तित नेपाल’ शीर्षकको तीन मिनेटको सर्ट फिल्म प्रतियोगितामा छनोट भएका उत्कृष्ट १० फिल्म प्रदर्शन गरिने छन्।

यसबाहेक महोत्सवमा तीन वटा स्वीस फिल्महरूको विशेष प्रदर्शनी गरिनेछ। स्वीस कथानक फिल्म ‘हाइडी’ महोत्सवको समापन समारोहमा प्रदर्शन गरिनेछ। माफिल कोट्स (बेलायत), जे. क्यु ली (कोरिया) र ग्याब्रियला कुह्न (पोल्याण्ड) सहितको निर्णायक टोलीले महोत्सवको उत्कृष्ट फिल्महरु छनोट गर्नेछ।

‘पछाडि पारिएकाहरुको आवाज’ नारासहित आयोजना हुन लागेको महोत्सवको उद्घाटनमा ‘द एसेन्ट अफ एभरेष्ट’ फिल्म प्रदर्शनी गरिनेछ। महोत्सवमा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्बिरहरूको प्रर्दशन गरिनेछ। यसपटक महोत्सवमा फिल्म प्रदर्शनीसँगै विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को हिउँचितुवा संरक्षणसम्बन्धी स्टोरी टेलिङ कार्यक्रम आयोजना हुनेछ। यसमा घनश्याम गुरुङ, समुन्द्र सुब्बा र सेरेन श्रेष्ठ वक्ता रहनेछन्।

त्यस्तै, महोत्सवमा प्लान इन्टरनेसनलको महिला सशक्तीकरणसम्बन्धी कार्यक्रम पनि आयोजना हुने जनाइएको छ। यसपटक ब्रिटिस काउन्सिलको तर्फबाट छलफल र फिल्म प्रदर्शनी गरिनेछ। एसियाली कला संग्रहालयबारे छिरिङ शेर्पा र साहसिक फिल्म निर्माणसम्बन्धी माइकल डिलनले मास्टरक्लास सञ्चालन गर्नेछन्।

पाँचदिने महोत्सव मार्फत नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने निरन्तर प्रयास गरिरहेको महोत्सवका आयोजक हिमाल एसोसिएसनका कार्यकारी निर्देशक वसन्त थापाले बताए।
हिमाल एसोसिएसनले सन् २००० देखि आयोजना गर्दै आएको किम्फ सन् २०००–२००६ सम्म दुई–दुई वर्षको अन्तरालमा आयोजना भएका थिए। सन् २००७ यता महोत्सव प्रत्येक वर्ष हुँदै आएको छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close