नेकपा माओवादी केन्द्रले आफ्नो बागमती प्रदेश नेतृत्व चयनका लागि सोमबार साँझ ६ बजेदेखि मतदान थाल्ने भएको छ।
त्यसका लागि निर्वाचन समितिले बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आवश्यक प्रक्रिया सुरु गरेको छ। समितिले निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशित गरिसकेको छ।
यही पुस ११–१३ गते आयोजना गरिने राष्ट्रिय सम्मेलनअन्तर्गत सेल, टोल, वडा, स्थानीय तह हुँदै प्रदेश सम्मेलनसम्म आइपुगेको माओवादी केन्द्रले पहिलोपटक चुनावबाट नेतृत्व चयन गर्न लागेको हो। बागमती प्रदेशमा २ सय ७५ सदस्य छन्।
बागमती प्रदेश अध्यक्षका लागि देवीप्रसाद ढकाल डीपी , दीनानाथ गौतम, विशाल खड्का, सरल सहयात्रीसहित आकांक्षी छन्। सर्वसहमतिको प्रयास असफल भएपछि माओवादी केन्द्रले प्रदेश नेतृत्व चुनावबाट चयन गर्न लागेको हो।
यसअघि सबै तहका नेतृत्व माओवादी केन्द्रले सर्वसहमतिकै आधारमा चयन गरेको थियो। २०६९ को हेटौँडा महाधिवेशनयता पहिलो पटक माओवादीले निर्वाचनबाट नेतृत्व छान्न लागेको हो।