संरक्षणको पर्खाइमा सुर्खेतको जाजुरादह

कमल कुमार न्यौपाने
माघ २६,पञ्चपुरी ।
सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं ८ मा अवस्थित छ जाजुरा दह जाजुरा गाउको दक्षिण पुर्व भाग रहेको यो ताल ३ बिघाभन्दा बढी ४५ रोपनी क्षेत्रफलमा फैलिएको प्राकृतिक र मनोरम जाजुरा दह छ । क्षेत्रफलका हिसाबले यस नगरपालिकाको सबैभन्दा ठुलो र जिल्लामै दोस्रो ठुलो ताल हो । यस तालको वरिपरि विगत देखि नै मगर बस्तीको बाहुल्यता रहेको छ । मगर भाषामा जाजुरा भनेको गोरुको जुरो हो भने दह भनेको ताल हो । यो गोरुको जुरो जस्तो अग्लो स्थानमा बस्ती रहेको जाजुरा गाउँको फेदीमा रहेकोले यस तालको नामकरण जाजुरा दह रहन गएको एकथरी किम्वदन्ती रहेको छ ।

यो ताल कति समयदेखि बनेको हो भन्ने यकिन तथ्याङ्क त छैन । तै पनि यस स्थानका बुढा पाका तथा जेष्ठ नागरिकहरु समक्ष बुझ्दा करिब १३० वर्ष अघिदेखि यस स्थानमा बस्ती रहिरहेको र त्यो बस्ती रहँदा ताल पनि रहेको भन्ने भनाइरहेकोे छ । यो तालको विकास क्रमको अर्को रोचक प्रसङ्ग पनि रहेको छ । यो तालको उत्तरपट्टिको गाउँ जाजुरामा नै धेरै वर्ष अघि यो ताल रहेको त्यस समयमा भएको प्राकृतिक विपत्तिले गर्दा त्यो ताल सुकेर जमिन मुनिबाटै पानी बगेर हालको स्थानमा ताल बन्नपुगेको कहावत पनि रहेको छ । बर्षौ पहिले जाजुरा गाउँको कुटी गैरामा ताल थियो भन्ने स्थानमा हाल पनि तालको आकारको गहिरो सतह र पश्चिम दक्षिण भागबाट त्यसको निकास निस्केजस्तो आकृति अझै पनि देख्न सकिन्छ तर हाल त्यस स्थानलाई खेतीयोग्य भुमिको रुपमा प्रयोगमा ल्याइएको छ । जाजुरा गाउँबाट लोप भई उत्पत्तिभएर र जाजुरा गाउँबाट यसको फेदीमा देखिने तालभएर यसको नाम जाजुरा ताल रहनगएको भन्ने अर्को फरक किम्वदन्ती रहेकोे छ ।

समुन्द्री सतहदेखि ३२१२ फिट उचाइमा रहेको यो ताल करिब ३ बिघा क्षेत्रफलमा फैलिएको छ भने तालको गहिराई १८ फिटसम्म रहेको छ । आवश्यक संरक्षणको अभावमा यो ताल एकातिर बस्ती स्तरबाट आउने भेलले बर्षेनी पुरिदै गइरहेकोे छ भने अर्को तर्फ स्थानीयको अतिक्रमण तथा ताल नजिकै सम्म खेतीयोग्य जमिनको विस्तारले गर्दा ताल बर्षेनी पुरिँदै गइरहेको छ । ५० वर्ष अघि करिब ५ बिघा क्षेत्रफल र २२ फिट गहिराइमा रहेको तालहाल आएर साँघुरिएको छ । कतैबाट पनि पानीको मूल नदेखिने यस दहको पानीको स्रोतको बारेमा तथ्य फेला परिसकेको पाईदैन तालको मध्यभागको गहिरो स्थानबाट पानी निस्केको अनुमान गरिएको छ । प्राकृतिक दहको रुपमा चिनिने यस दहमा स्वच्छ, सफा र कञ्चन पानीभित्र माछाहरु बाह्रै महिना देख्नपाइन्छ । तालको वरिपरि रुखबिरुवाहरु भएतापनि यस तालमा खसेको पातहरु कहिल्यै तालको बिच भागमा जम्मा नहुनु, झरेको पात तुरुन्तै किनारमा लाग्नु यस तालको विशेषता हो । यसको निकासबाट बगेको पानीले पानी घट्टहरु सञ्चालनमा रहेका छन् भने सिँचाईको लागि पनि उक्त पानी प्रयोगमा ल्याइएको छ ।

ताल हेर्दा र सुन्दा जतिनै आकर्षक देखिन्छ त्यति नै अतिक्रमको चपेटामा परेको छ।ताल संरक्षणका लागि स्थानियहरूले समिति तथा उप समिति निर्माण गरेता पनि संरक्षण गर्नका लागि ब्यबहारमा ल्याउन नसक्दा अतिक्रमको चपेटामा पर्दै गएको देखिन्छ । सडक सञ्जाल ताल सम्म पुगेतापनि दिर्धकालिन पुर्वाधार नहुदा ताल अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाइ सास्ती हुने गरेको छ। ताल संरक्षणका लागि स्थानिय क्लब तथा स्थानिय युवाहरूले समय समयमा सरसफाइ पनि गर्दै आइरहेका छन् ।प्रदेश राजधानीको जिल्ला सुर्खेतको पश्चिममा रहेको यो ताल पुग्न वीरेन्द्रनगरबाट करिब ६० किलोमिटरको यात्रा तय गर्नु पर्ने हुन्छ । प्रदेशसरकार ताल तथा यश क्षेत्रमा रहेका अन्य पर्यटकीय क्षेत्र संरक्षणमा खासै ध्यान दिएको पाइदैन । स्थानीय सरकारपनि संरक्षणमा जुटि रहेको बताउदै आएता पनि खासै काम देखिने गरि कुनै काम कारवाही नगरेको स्थानीयहरूले आरोप लगाएका छन् ।सरकार तथा सरकारमातहतका निकायले यश क्षेत्रका पर्यटकीय क्षेत्रलाई संरक्षण गर्न सके पछिल्लो पुस्ता पनि यसको साचि बन्न सक्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close