राष्ट्रिय महिला भलिबल प्रतियोगिताको छैटौं संस्करण माघ २१ गतेदेखि

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको छैटौं संस्करण माघ २१ गतेदेखि काठमाडौंमा हुने भएको छ ।
प्रतिष्ठानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महिला भलिबल खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप माघ २१ देखि २४ गतेसम्म दशरथ रंगशालामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल संघ र एभरेष्ट भलिबल क्लब गरी ६ टोलीको सहभागिता रहनेछ ।
नेपाल भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेता टोलीलाई नगद तीन लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीलाई ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिने आयोजकको भनाइ छ ।
पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले राष्ट्रिय प्रतियोगिताले भलिबलको स्तर विकासका सहयोग पुग्ने बताउनुभयो । उहाँले नेपालको भलिवल क्षेत्रको पूर्वाधारलाई बलियो बनाउन संघको ध्यान केन्द्रीत रहेको धारणा राख्नुभयो ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानले मुख्य प्रायोजक बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकसँग सम्झौता पनि गरेको छ । प्रतिष्ठानकी संरक्षक गमली खड्का र केएनपि नेरोलेकका कन्ट्री डिरेक्टर मनोजकुमार मिश्रले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । प्रतियोगिताको अनुमानित बजेट करिब ४० लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close