के गर्लान् माधव नेपाल ? यी हुन् बाँकी विकल्प

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीकै वरिष्ठ नेता माधवकुमार नेपाललाई कारबाही गरेका छन्। नेता नेपाललाई पठाइएको पत्रमा दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारी तथा पार्टी सदस्यताबाटै हाललाई ६ (छ) महिनाको लागि निलम्बन गरिएको उल्लेख छ।

सर्वोच्च अदालतले एमाले ब्युँताएपछि बडो अप्ठ्यारो महसुस गरिरहेको बताएका नेता नेपाललाई ओलीले झनै अप्ठ्यारो थपिदिएका छन्। गत शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा नेपालले भनेका थिए- ‘पार्टीभिको कुरा डबलीमा आएर भन्यो भन्ने अर्को आरोप लाग्ला। कुन दिन मलाई त्यहाँबाट पनि घोक्र्याएर निकालिदिने स्थिति बन्ला।’

दुई दिनपछि उनको आकलन पूरा भएको छ।

यसअघि आफूले उठाएका मुद्दाका कारण नेपाल राजनीतिक रुपमा केही बलिया देखिएका थिए। तर, समयमै कठोर र रणनीतिक निर्णय नगरेका कारण उनीसँग प्राप्त अवसरहरू गुम्दै गएका थिए। दिन बित्दै जाँदा सोमबारको कारबाहीपछि त उनीसँग उपलब्ध विकल्पहरु पनि सीमित देखिन्छन्। के हुनसक्छन्, नेता नेपालका अबका कदमहरू?

व्यवहार ‘सुधार’
सोमबार नेपाललाई कारबाही गरिएको पत्रमा भनिएको छ- ‘आफ्ना विचार र क्रियाकलापहरू सच्याइ पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारबाही गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ।’

नेता नेपालले ६ महिनासम्म चुपचाप लाग्ने र ओलीलाई नचिढ्याउने विकल्प प्रयोग गर्न सक्छन्। जसले उनलाई चाँडै निलम्बनमुक्त गराउन सक्छ। तर, यो विकल्प नेता नेपालले अपनाउने सम्भावना भने न्यून छ। उनले ओलीको निर्णय नै अस्वीकार गरेको सार्वजनिक प्रतिक्रिया दिइसकेका छन्।

अर्कोतिर ओलीले नेता नेपालमाथि ‘दया’ गरेर निलम्बनमुक्त गर्ने सम्भावना पनि देखिँदैन। उनी नेकपाकालमा आफूलाई पारिएको अप्ठ्यारोको प्रतिशोध लिइरहेका छन्। र, माधव नेपालमाथि कारबाही नगर्ने हो भने थप अप्ठ्यारो निम्त्याउन सक्ने बुझेरै अघि बढेका हुन्।

आफ्ना नेतामार्फत् पार्टीमा कुरा उठाउने
माधव नेपाल पक्षमा रहेका भीम रावललाई पनि उनीसँगै कारबाही गरिएको छ। पुनः स्पष्टीकरण सोधिएका घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि अन्तिममा निलम्बन नै गरिनसक्ने सम्भावना छ। उनी पक्षका बाँकी नेताहरूलाई प्रयोग गरेर नेपालले पार्टीमा आफ्ना कुरा उठाउन सक्नेछन्। ओली विधि र विधान विपरीत अघि बढेको आरोप नेपालको छ। त्यसलाई थप घनिभूत रुपमा उठाउन लगाउन सक्छन्।

तर, यो विकल्प पनि खासै भरपर्दो देखिएको छैन। ओली पक्षले नेताहरूसँग व्यक्तिगत कुरा गर्ने र आफ्नो पक्षमा ल्याउने अनेक प्रयत्न गरिरहेको अवस्था छ। ओली पक्षमा नलागे सांसद् पद गुम्ने र पार्टी सदस्यबाट पनि निलम्बन हुने स्थिति आउन सक्ने सम्भावना छ। छलफल हुने र त्यहाँबाट निस्कने निष्कर्ष भन्दा पनि ओलीले जे भन्यो त्यही हुने स्थितिमा अन्य नेताले कडा कुरा उठाउने सम्भावना न्यून छ।

समानान्तर गतिविधि अघि बढाउने
पार्टी नेतृत्वसँगको संघर्षले निरीह भएको भए पनि नेपालको पक्षमा खुलेका नेता तथा कार्यकर्ताको संख्या उल्लेख्य छ। गत चैत ४ र ५ गते उनले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा उपस्थितको संख्याले पनि कार्यकर्ता तहमा उनको लोकप्रियता मापन गर्न सकिन्छ।

कारबाही भोगेको यस अवधिमा नेता नेपालले आफ्ना पक्षमा रहेका कार्यकर्तालाई एकीकृत गरेर अघि बढ्न सक्छन्। जसलाई उनले संगठित गर्दै समानान्तर गतिविधि अघि बढाउन सक्छन्। आफ्नो पक्षका कार्यकर्तालाई एकीकृत राख्ने यो भरपर्दो उपाय हुनसक्छ।

तर, यो विकल्पका लागि कार्यकर्ताको त्याग पाउन कठिन छ। केही दिनअघि र अहिलेको स्थिति फरक छ। पक्षधरताको सवालमा चुप लागेर प्राप्त अवसरमा कायमै रहन छाडेर नेता नेपालको पछि लागेर कारबाही व्यहोर्ने र अनेक कठिनाइ भोग्ने सामर्थ्य र उदात्त भाव ठूलो पंक्तिसँग छैन।

पार्टी विभाजन
माधव नेपालसँग उपलब्ध कठोर विकल्प पार्टी विभाजन हो। नेपालले आफूलाई साथ दिन जति नेता तथा कार्यकर्ता तयार हुन्छन्, उनीहरूको साथ लिएर पार्टी विभाजन गर्न सक्छन्।

विभाजनपछिको स्थिति अहिल्यै आकलन गर्न मुस्किल छ। ठूलो संख्याका कार्यकर्ता र नेतृत्व तहका नेताहरू उनीतिर आए भने उनलाई सोही पार्टीलाई अघि बढाउने आँट आउन पनि सक्छ। तर, जनतालाई उक्त पार्टीले कसरी आकर्षित गर्छ भन्ने कुरासँग उसको अस्तित्वको निरन्तरता भर पर्छ। सानोतिनो कम्युनिस्ट ‘दोकान’ भने नेपाली राजनीतिमा सधैं कायम रहनसक्छ।

विभाजनपछि तत्कालीन नेकपामा रहेको पुष्पकलम दाहाल ‘प्रचण्ड’-माधव नेपालको जुन समूह थियो, त्यही कायम रहनेगरी एउटा प्रगतिशील कम्युनिस्ट पार्टी बनाउने सम्भावना छ। तर, उसको मुद्दा र जनतालाई आकर्षित गर्ने कुराले नै बाँकी कुरा निर्धारण हुने छ। सबैभन्दा मुख्य कुराचाहिँ, लाभ र अवसर छाडेर यस्ता कठिन बाटोमा हिँड्न तयार हुने समूह भने तयार गर्न मुस्किल छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close