अग्ला घर भत्काएर विस्तार नगरे बन्द गर्नुपर्ने अवस्थामा भरतपुर विमानस्थल

२०१७ सालको फागुनमा भरतपुर विमानस्थल सुरू हुँदा ६२ विघा जमिन निकै फराकिलो थियो। राप्तीदुन उपत्यका विकास समितिमार्फत् चितवनमा बस्ती बसाल्न थालिएको केही वर्षमै यहाँ विमानस्थल स्थापना भएको थियो।

अहिलेको व्यस्त बजार नारायणगढ, भरतपुर क्षेत्रमा त्यतिखेर सामान्य चहलपहल सुरू हुँदै थियो। काठमाडौं, विराटनगर, पोखरा, राजविराज, जनकपुरजस्ता ठूला सहरमा मात्रै त्यसअघि विमानस्थल चलेका थिए।

६ दशकपछि भरतपुर विमानस्थल साँघुरोमात्र भएको छैन वरपर बनेका अग्ला संरचनाले दुर्घटनाको जोखिम बढेको छ।विमानस्थलको सीमासँगै जोडेर बनेका संरचनादेखि नजिकैका ठूला रूखले जोखिम बढाएको विमानस्थल प्रमुख योगेन्द्र कुँवर बताउँछन्।

त्यसो त यो विमानस्थलको विस्तारको प्रसंग चल्न थालेको पनि दशक नाघ्यो। उत्तरतर्फ रहेको नेपाली सेनाको ब्यारेक र सेनाकै घोडा प्रजनन् केन्द्रलाई कतै स्थानान्तरण गरेर विस्तार गर्ने बहस धेरै पहिला सुरू भएको थियो।

बढ्दो जोखिमलाई मध्यनजर गरेर २०७० साल फागुन ९ गते प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बसेको बैठकले विमानस्थल वरपर मापदण्डविपरीत निर्माण भएका भवनहरूको लगत संकलन गरी प्रतिवेदन पेश गर्न प्राविधिक समिति निर्माण गरेको थियो। उक्त समितिले विमानस्थलको प्रभावित क्षेत्रमा ३१३ वटा अस्थायी तथा स्थायी संरचना निर्माण भएकोमा २५७ वटा संरचना मापदण्डविपरीत रहेको प्रतिवेदन पेश गर्‍यो।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close