
डोटीको आदर्श गाउँपालिका-१ बाँझककनीमा घर भत्किँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ।
लगातारको बर्षाले गएराति करिब १ बजेतिर लोगे लुहारको माटो र ढुंगाले बनेको तीनतले घर भत्किँदा श्रीमती, दुई छोरी र एक छोराको मृत्यु भएको हो। घटनामा अन्य तीनजना घाइते भएका छन्।
मृत्यु हुनेमा ३५ वर्षीया विष्णादेवी लुहार, छोरा ११ वर्षीय पारस, छोरीहरू ७ वर्षीया सिरु र ४ वर्षीया जेनिसा रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेयले देखापढीलाई बताए।
उनका अनुसार घटनामा लोगे लुहारसहित आमा पाना लुहार, सासुआमा झागी विक र सालो देबु विक घाइते छन्।
घटना राति १ बजेतिर भएपनि प्रहरीलाई ३ बजे मात्रै खबर प्राप्त भएको थियो। इलाका प्रहरी कार्यालय आदर्शबाट गएको टोलीले घाइतेलाई उपचारका लागि शैलेश्वरी अस्पताल दीपायल पुर्याएको छ।
चारजनाको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ।