भाइरल तस्विरकी महिला भन्छिन् : सामाजिक सञ्जालमा सेलाएको विषय मिडियाले उचाल्यो, कहिलेसम्म सहनु?

काठमाडौं : साउन २ गते। दिनभर निजामती किताब खानामा बित्यो उनको समय। सामाजिक सञ्जाल नचलाउने भएकाले घर फर्किएर परिवारसँग समय बिताउँदै थिइन्। अचानक कार्यालयका सहकर्मीले फोन गरे। केही आत्तिए सरह जानकारी दिए, ‘तपाईंहरूको फोटो फेसबुक/ट्वीटरमा भाइरल भएको छ। हेर्नुस् त।’

ट्वीटरमा उनको खाता छैन। फेसबुक पनि बन्द गरेकी थिइन्। परिवारमै कसैको फेसबुक लग-इन गरिन्। त्यसपछि उनलाई छाँगाबाट खसेजस्तै भयो।

प्रसङ्ग उही ‘सरकारी मोटरसाइकलको दुरुपयोग’वाला तस्विरको। तस्विरमा एक पुरुषले सरकारी नम्बर प्लेट भएको मोटरसाइकल हाँकेका छन्। पछिल्लो सिटमा महिला छिन्। ती महिलाले जिन्सको पाइन्ट र टिसर्ट लगाएकी छिन्। टिसर्टको केही भाग खुला देखिन्छ जसका कारण उनको ढाड देखिएको छ।

सहकर्मीसँग कार्यालयको मोटरसाइकल पछाडि बसेको फोटोमाथि अनेक टिका टिप्पणी भइरहेको थियो। त्यसमाथि उनले लगाएको लुगाको आलोचना र उनको ‘चरित्र’ र ‘मर्यादा’माथि प्रश्न पनि।

  • ‘सरकारी मोटरसाइकल जनताको कामको लागि हो। अर्धनग्न तस्विर प्रदर्शन गर्नका लागि होइन।’
  • ‘सरकारी सम्पत्तिमा यसरी मस्ती गर्दै हिड्न पाइन्न।’
  • ‘सरकारी जागिर खाएको भए अहिले यस्तो रमाइलो हुने रहेछ।’
  • ‘पछाडिको सिटमा बस्नेका कारण कहिले काहीँ सरकारी मोटरसाइकल पनि भाइरल हुन पाउँछ।’

सामाजिक सञ्जालमा तस्विरमाथि यस्तै टिप्पणी भइरहेका थिए। हरेक पटक देखिने फरक पोस्टमा उस्तै गाली गलौज वा व्यङ्ग्यसहितको क्याप्सन अनि कमेन्टहरू। कारण – तस्विरमा देखिएको मोटरसाइकल सरकारी हुनु। त्योभन्दा मुख्य कुरा- मोटरसाइकलमा बसेकी महिलाको पहिरन पनि।

‘मैले हेर्दासम्म फोटो भाइरल भइसकेको थियो। सम्हाल्न सक्ने अवस्था थिएन,’ उनले पहिलोपोस्टसँगको कुराकानीमा भनिन्, ‘पब्लिक जे देख्यो त्यसैको पछि लाग्छन्। कथाको फरक पाटो बुझ्न खोज्दैन। त्यसैले मौन रहनुको विकल्प थिएन। तर, तनाव चाहिँ धेरै नै हुँदो रहेछ।’

भएको के थियो ?

मोटरसाइकलमा सवार पुरुष र महिला एउटै गाउँपालिकामा कार्यरत इञ्जिनियर र सब इन्जिनियर हुन्। गत फागुनदेखि सेवामा खटिएका उनीहरू सरकारी कर्मचारीलाई दिइने संकेत नम्बर लिन काठमाडौं आएका थिए। कार्यरत् गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतसँग बिदा मागेर।

बिहीवार आएका उनीहरूले सोही दिन आधा काम फत्ते पारे।

महिलाको परिवार काठमाडौं उपत्यकामै बस्छ। शुक्रवार अर्थात् तस्विर खिचिएको दिन भने महिलाको प्रशासकीय कामका लागि कतै जाने योजना थिएन। उनी घरबाट पारिवारिक भेटघाटका लागि निस्किइन्। तर, आफूसँगै आएका सहकर्मी लगायत अन्यले उनलाई फोन गरेर बबरमहलस्थित निजामती किताबखाना बोलाए, सिट रोलमा ‘सही’ गर्नका लागि।

लकडाउनका कारण सार्वजनिक सवारी साधन चलेका छैनन्। निजी सवारी साधन नभएकाले उनले आफूसँगै आएका सहकर्मीलाई लिन बोलाइन्। उनी आए। बबरमहल जाने क्रममा कसैले उनीहरुको तस्विर खिचेको हो।

‘कसले खिच्यो थाहा छैन। जसले गर्‍यो गलत गर्‍यो। तस्विरसँग सम्बन्धितहरूलाई कस्तो असर पर्छ भन्‍ने कुरामा ध्यान दिएन,’ ती महिलाले भनिन्।

उनले फोटो खिच्नेसँगै पोस्ट गर्नेबारे पनि भनिन्, ‘मनोसामाजिक असर गहिरो हुन्छ नि। सामाजिक सञ्जालमा भाइरल भएको विषय एक पटकलाई साम्य होला तर, लामो समयसम्म सञ्जालमै रहन्छ। पटक पटक छाउँछ। आलोचना हुन्छ। सबै सहनु पर्छ। सधैं सहनु पर्छ।’

महिलाको लुगा, सामाजिक सञ्जाल र ‘मर्यादा’को कक्षा

सामाजिक संजालमा उक्त तस्विरलाई लिएर विभिन्न टिकाटिप्पणी हुँदै गए। तस्विर तब भाइरल बन्यो जब फेसबुक/ट्वीटरमा हजारौं फलोअर्स भएका पूर्व सचिव भीम उपाध्यायले आफ्नो फेसबुक टाइमलाइनबाट त्यो सेयर गरे।

तस्विर सेयर र रिपोस्ट गर्नेहरू ‘मर्यादित पोशाक’ लगाउन सिकाउने, सरकारी सवारी साधनको पछाडि को बस्न पाउने? को नपाउने? भन्ने बारे ‘ज्ञान’ दिन सक्रिय रहे।

तस्विरलाई मिम बनाउनदेखि ट्रोल पेजहरूले प्रयोग गरे। मोटरसाइकलमा सवार पात्रहरूलाई हाँसोको पात्र बनाइयो।

केही मानिसले भने प्रश्न गरे – पोशाकको मर्यादा सिकाउनेहरूले अरुको फोटो चाहिं अनुमति बिना खिच्न पाउँछन्? सामाजिक सञ्जालमा राख्न पाउँछन्?

प्रवीण रिजाल नाम गरेक ट्वीटर प्रयोगकर्ताले प्रश्न गरेका छन् – ‘होइन यो मोटरसाइकल काण्डमा सरकारी साधनको दुरुपयोग भएकोमा आपत्ती हो कि पछाडि बसेकी नारीको पहिरनमा आपत्ती हो? सबैभन्दा पहिले यो नै क्लियर हुन आवश्यक देखियो।’

त्यस्तै स्मीता पौडेलले लेखेकी छिन् : म सोच्दैछु, त्यही सरकारी मोटरसाइकलमा कोही सारी र ठ्याक्कै यस्तै ढाड देखिने ब्लाउज लगाएर यात्रा गरिरहेको थियो भने यो तस्विर यस्तै भाईरल हुन्थ्यो? यो समाजले क्या सजिलै महिलाको ‘मर्यादा’लाई परिभाषित गरिदिन्छ!

ती महिलाले सरकारी कार्यालय छिर्दा भने आफूले पोशाकको विषयमा पूर्ण ध्यान दिएको बताइन्। आफूले किताबखाना छिर्नुअघि ज्याकेट लगाएको उनको भनाइ छ। ‘कार्यालयको पोशाक मर्यादाबारे कर्मचारीलाई थाहा हुँदैन त?’, उनले प्रश्न गरिन्।

त्यसदिन उनी दिनभर कार्यालयमै रहिन्। समयमा काम नसकिएकाले उनको पारिवारिक भेटघाटको योजना स्थगित भयो।

‘आकस्मिक काम पर्‍यो। लकडाउनका कारण कपडा फेर्न घर फर्कने अवस्था थिएन। सहकर्मीसँग कार्यालय गएँ। आफूसँग भएको ज्याकेट लगाएर छिरें। अब मैले स्पष्टिकरण दिनुको अर्थ छैन,’ उनी केही निराश सुनिइन्।

उनको पोशाककै कारण सरकारी सवारी साधनको दुरुपयोग भएको आरोप लाग्यो। कथा नबुझी सरकारी मोटरसाइकलमा युवती ‘घुमाएको’ व्याख्या गर्नेको जमात नै ओर्लियो सामाजिक संजालदेखि चिया पसलसम्म।

सोही दिन फेसबुकका नेपाली पुरुष प्रयोगकर्ताहरूको समूह (एमआरआर)मा एउटा पोस्ट गरियो। जसमा सुवोध बुढाथोकीले केही मेसेजको स्क्रिन सटसहित पोस्ट लेखेका छन् : हामीले भाइरल तस्विरको पीडित पक्षबाट केही सन्देश पाएका छौं। कृपया अब उक्त तस्विर ग्रुपमा पोस्ट नगर्नु होला। कसैले गरेको पाउनु भए रिपोर्ट गरेर हटाउन सहयोग गरिदिनुस्।

स्राेत: पहिलाे पाेष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close