
काठमाडौैं । पूर्वगृहमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि रुकुम पश्चिम जिल्लाको आठबीसकोट नगरपालिकामा सुविधासम्पन्न १० बेडको आइसोलेसन भवन निर्माण सम्पन्न भएको बताएका छन् ।
नेता शर्माले विहीबार सामाजिक सञ्जालमा एक भिडियो राख्दै उक्त भवन १० दिनमा निर्माण सम्पन्न भएको बताएका हुन् ।
८० जना श्रमिककोे सहयोगमा ६ वटा एटेज वाथरुमसहितको आरसीसी भवन निर्माण सम्पन्न भएको सो जिल्लाका सांसद समेत रहेका सांसद शर्माको भनाइ छ ।
नेता शर्माको सहकार्य र आठबीसकोट नगरपालिकाका प्रमुखको नेतृत्वमा सम्पन्न उक्त भवन निर्माणको प्रत्यक्ष नेतृत्व शेरबहादुर वलीले गरेका थिए ।
भवन निर्मार्णपछि शर्माले जनतासँगको सहकार्यमा भएको यो भवन निर्माण कोरोेनाविरुद्ध लड्न जनतासँगको प्रतिनिधित्वको उदाहरण भएको प्रतिकृया दिए । उनले सरकार र जनताबीचको एकाकार, सहकार्य, एकीकृत परिचालन र विकासको नमुना झल्काउनेगरी काम गर्न सके विकास असम्भव नरहेको जनाए ।
भिडियो सन्देशमा शर्माले श्रम सहकारीको माध्यमबाट पूर्वाधार क्षेत्रको निर्माणमा नेपालको पूर्वाधार क्षेत्रका विकासमा बजेटको दुरुपयोग रोक्न जनतालाई परिचालन गर्नुपर्ने बताएका छन् । त्यस्तै उनले एक नगरपालिका वा एक गाउँपालिकाले एक महिनामा एक किलोमिटर सडकमात्रै निर्माण गरेपनि एक बर्षमा नौ हजार ३७ किलोमिटर पक्कि सडक निर्माण गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।